३ माघ, काठमाडौं :- काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् ।महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।
काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । ‘दाइलाई चाहिँ सोमबार पक्राउ गरेर ल्याएका हौं’ उनले भने ।
प्रहरीका अनुसार सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए । अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् ।
उनीहरुबीच यसअघि पनि झगडा भएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘घटनाको कारणबारे अनुसन्धान जारी छ,’ डीएसपी पाण्डे भन्छन्, ‘अनुसन्धानका क्रममा थप कसैको संलग्नता खुले उनीहरु पनि पक्राउ पर्छन् ।’
शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्;
गुण्डा नाइके विकास पुन काठमाडौंमा पक्राउ परेका छन् । दाङका विकासलाई ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ गरिएको बताइएको छ । पीडित पक्षले पुनविरुद्ध तीन महिनाअघि मुद्दा दर्ता गराएका थिए ।
पुनलाई दाङ लगेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ । पक्राउ परेका पुनलाई दाङलैजान प्रहरीको टोली काठमाडौं आएको बताइएको छ ।
पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए ।कुमार घैंटे समूहमा सकृय उनी घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि पुन दाङमै चन्दा असुलीमा सक्रिय भएका थिए ।