काठमाडौं :- पर्यटनमन्त्रीको ठाडो निर्देशनपछि एक बेलायती नागरिकलाई स्वदेश फर्कनबाट रोकिएको छ ।नेपालमा क्यासिनो व्यवसाय गरिरहेका एक बेलायती नागरिकलाई स्वदेश फर्कन अध्यागमन विभागले रोक लगाएको हो । नेपाल सरकारलाई करोडौँ राजस्व तिर्न बाँकी रहेकाले ती बेलायती नागगिकलाई स्वदेश फर्किन रोक लगाइएको हो ।
नेपालमा दुईवटा क्यासिनो सञ्चालन गर्दै आएका बेलायती नागरिक माइक लुके भेनेयुभे बोलसोभेरले नेपाल सरकारलाई तिर्न बाँकी राजस्व नबुझाई भाग्न खोजेको गोप्य सूूचनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट शनिबार फर्काइएको हो ।
विमानस्थलबाट फर्काइएका बेलायती नागरिक माइक काठमाडौँको लाजिम्पाटस्थित होटल साङ्ग्रिलामा सञ्चालित ‘द मिलिनियोर्स क्लब एन्ड क्यासिनो’ तथा रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित टाइगर प्यालेसमा रहेको क्यासिनोका सञ्चालक हुन् ।नेपालमा क्यासिनो सञ्चालन गरेका माइकले १२ करोड रुपियाँभन्दा बढी राजस्व बुझाउन बाँकी छ ।
राजस्व नतिरी नेपाल छाडेर भाग्न खोजेका माइकलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेको निर्देशनमा फिर्ता गरिएको अध्यागमन विभागले जनाएको छ ।शनिबार काठमाडौँबाट कतारको दोहातर्फको उडान नम्बर क्यूआर ६५१ मार्फत साँझ ८ः५० को विमानमार्फत कतारको दोहा जान लागेका उनलाई विभागमा सम्पर्क गर्नुपर्ने भन्दै फर्काइएको हो । मन्त्रालयले माइकलगायत नेपालमा क्यासिनो सञ्जालन गरेर राजस्व बुझाउन पटक–पटक ताकेता गर्दै आएको छ ।