माघ २, धादिङ :- रुबीभ्याली गाउँपालिका- १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार डोजर सहचालक काभ्रेका १९ वर्षीय राजु तामाङको शव फेला परेको हो। प्रहरीका अनुसार अन्य दुईजनाको अवस्था भने अज्ञात छ। पुस २९ गते बिहान साँढे ८ बजेतिर बाटो खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका थिए। बेपत्ताहरुको खोजि भइरहेको प्रहरीले बताएको छ।
यो पनि पढ्नुहोस -पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मकर नुहाउने क्रममा आज दिउँसो १२ः४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो ।
बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब चार किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तुम्बेवा–२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षक केशव अधिकारीको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।