बुटवल,
नेपालको उत्तरी मध्य भागमा पर्ने एउटा सानो अनि सुन्दर गाउँ हो घान्द्रुक गाउँ । नेपालको सात प्रदेश मध्ये गण्डकी प्रदेशको कास्की जिल्लामा पर्ने आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य स्थान हो । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका १० मा घान्द्रुक गाउँ गुरुङहरूको परम्परागत पहिचान झल्काउने तथा वातावरणमैत्री बसोबासको आकर्षणको केन्द्र विन्दु हो । साथै यहाँबाट देखिने हिम श्रीङ्खलाले गर्दा पनि सबैलाई आकर्षण गर्दछ । घान्द्रुक गाउँ समुन्द्री सतहबाट २०१२ मिटरको उचाइमा रहेको छ । घान्द्रुक आफैंमा अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल र हिमालचुलीको काख हो । बुटवल बहुमुखी क्याम्पस मानविकी संकाय अन्तर्गतका ग्रामिण विकास समुहका विद्यार्थी साथिहरु मिलेर त्यही घान्द्रुक गाउँको अवलोकन तथा प्रतिवेदन तयार पार्न भ्रमणमा गएका छौँ । यस शैक्षिक भ्रमणमा ४ दिन ३ रात काट्यौँ । बुटवलबाट सुरु गरेको यात्रा घान्द्रुक सम्म यात्रा यसरी वर्णन गरिएको छ ।
मिति २०७८ साल पुस १६ गते शुक्रबार दिउँसो १ बजे हामी २५ जना विद्यार्थीहरुको टोली दिउँसो १ बजे हिड्ने तयारी भएता पनि कुनै साथिहरु ढिलो आएकाले दिउसो २ बजे मात्र बुटवल बाट हिड्यौ । भ्रमणको पहिलो दिन बुटवल पाल्पा हुँदै पोखरा सम्मको मात्र यात्रा थियो । हिडिसकेपछि बुटवल छोड्दै गर्दा यताउताका दृश्यहरु पहिल्याउदै अगाडि बढ्यौं भने कुनै साथिहरु रमाइलो गर्न तर्फ लागे । पहिलो दिन भएकोले होला सबै साथिहरुमा जोस थियोे, उत्साह थियो अनि उमङ्ग पनि थियो । कुनै साथिहरु बसमा नाच्दै कुनै गिदाउदै त कुनै तालि बजाउदै रमाइलो गर्दै यात्रा गरेका थियौ । पाल्पाको प्रभासमा पुगेर गाडि रोकियो । किन रोकियो कसैलाई थाहा थिएन । अगाडीबाट चालकले गाडीको फ्युज गयो केही समय लाग्ने भो भन्ने जानकारी आउनासाथ हामी अलि चिन्तित भयौं तर यही मौका छोपेर खाजा नास्ता खान हामी सबैजना होटेल तिर गयौं । उता गाडी बिग्रेको बन्न केही समय लाग्ने भो बनाउने सामान बुटवल बाट ल्याउनपर्छ भन्दै थिए चालक, उनिहरुले आफै व्यवस्था गरेर करिब ३/४ घण्टा पछि गाडी बन्यो, हामी सबैजना खाजा नास्ता गरेर अनि ग्रुप फोटो सेसन गरेर गाडीमा चढ्यौँ अनि सुरु भो फेरी पोखरा सम्मको यात्रा ।
बाहिर विस्तारै अध्यारो हुँदै थियो, सहरका लाइटहरु बल्न थालेका थिए । हाम्रो गाडीको भित्र पट्टीको लाइट पनि बल्यो । फेरि रमाउदै नाच्दै गाउदै यात्रा अगाडि बढिरहेको थियो । कुनै साथिहरु सुत्न थाले बेलुका ८ बजिसकेको थियो । बिचबिचमा रमाइलो गर्दैगर्दै राति ११ बजे पोखरा पुग्यौं । खानेबस्ने व्यवस्था गाडी चालकले गरिसक्नु भएको हुदा हामीलाई सजिलो भयो । हामी होटेलमा गयौं खाना खादा १२ बजिसकेको थियो ।
अङ्ग्रेजी नयाँ बर्ष भएको हुदा हामी सबैजना ह्यप्पि न्यु इयर भन्दै सेलिब्रेसन गर्न थाल्यौं । हामी साथिहरु बिचको सम्बन्ध राम्रो होस भन्दै शुभकामना आदानप्रदान गर्यौँ । स्पिकर बजाएर एकछिन त्यहि नाच्यौं गायौं रमाइलो गर्यौं । नयाँ बर्षमा लेकसाइडमा भव्य मेला लाग्दो रहेछ । हामीलाई थाहा भयो । मेला तिर जाम भन्दा कुरा भाजियो सायद धेरै राति भैसकेको र यात्राको क्रममा गार्हो भएकाले शरिरले आराम खोजेर हुनसक्छ । कुनै साथिहरुले लेकसाइड रमाइलो गर्न जाम भन्दाभन्दै पनि बहुमत नै नपुगेकाले हामी गएनौ, बरु यता सुत्न कोठा तिर लाग्यौं । रातिको १ बजिरहेको थियो । केटा साथिहरु र केटी साथिहरु छुट्टाछुट्टै आआफ्नो कोठा तिर लागे एकछिनको रमाइलो सँगै । केही केटासाथिहरु निदाइसकेका थिए भने केही साथिहरु गफगाफ तथा रमाइलो गर्दागर्दा निदाउनै नपाई बिहान ५ बजिसकेछ रे भन्दै थिए अर्को दिन । बिहानै ५ बजे नै उठेर घुम्न जाने अघिल्लो दिन निर्णय भएको थियो । त्यही अनुसार केटी साथिहरु बिहान ४ बजे नै उठेर तयारी भई ५ बजे तयारी भइसकेका थिए । उनिहरु पनि जम्मा १/२ घण्टा मात्र सुतेको गुनासो गर्दै थिए ।
एका बिहानै ५ बजे नै त्यो पोखराको जाडोले हामी हिड्न सकेनौं । बिहान हुस्सु लागेको थियो । बिस्तारै मान्छेको आवजजावत सुरु भयो । हामी पनि होटेलबाट निस्कियौँ । पहिलो भ्रमणमा डेभिल्स फल्समा जानु थियो । हामी त्यहाँ पुग्यौँ। क्याम्पसले दिएको चिठी देखाएर सहुलियतमा टिकट काटेर हामी भित्र प्रवेश गर्यौँ । साथिहरुको फोटो सेसन चल्न थाल्यो । भित्र पट्टि पार्कसहितको आकर्षण वस्तुहरु बनाइएका रहेछन् । टोलि ठूलो भएको हुदा ढिलो होला भनेर टोली छुट्टयाएर घुम्न थाल्यौं अनि सबैको फोटो खिच्ने काम गर्यौँ । अलि पर पुगेपछि एउटा छांगो थियो त्यसैलाई पातले छांगो भन्दा रहेछन । छांगाबाट निस्केका पानिका फोकाले त्यहाँ वरिपरिको वातावरण नै सेतै बनाउदो रहेछ । पातले छांगाको अवलोकन सँगै त्यहाको बारेमा बुझेर हामी निस्कियौँ।
बिहानको ८ बजिसकेको थियो, फेरि हामी महेन्द्र गुफा तिर लाग्यौं । टिकट काटेर गुफा भित्र सबैजना भित्र पस्यौँ। बाहिरपट्टी अावरण निकै राम्रो बनाइएको हुदा त्यहा पनि फोटो खिच्यौँ । लगभग ५/७ राउन्ड मारेर तल पुग्यौं, अथवा गुफाको गेटमा पुगियो । भित्रपट्टी अध्यारो थियो ठाउँठाउँमा लाइट जडान भएकाले हामीलाई भित्र जान सहज हुदो रहेछ । भित्र फोटो खिच्न, भिडियो बनाउन निषेध रहेछ । यसको कडाई गर्न भित्र सिसिटिभि क्यामेरा पनि जडान रहेछ । करिब २/३ सय मिटर पर पुगेपछि पातले छांगा देखियो । भित्रैबाट पानिका फोकाहरु आइरहेका थिए । हामीले महेन्द्र गुफाको बारेमा धेरै कुरा बुझेर त्यहाँबाट निस्क्यौ अनि होटल तिर लाग्यौं । बिहानको १० बजिसकेको थियो, भोक पनि लागेको थियो हामीले सबैले खाना खायौं । अनि फेरि लाग्यौं पोखराको सुन्दरनगरी लेकसाइड फेवाताल तिर ।
आन्तरिक मात्र होइन बाह्य पर्यटकको गन्तव्य फेवाताल पोखरामा हामीले विदेशी पर्यटकहरु पनि देख्यौं । हामी आन्तरिक उनिहरु बाह्य पर्यटकका रुपमा भेट भैरहदा केही कुराकानी गर्ने अवस्था सिर्जना भयो । फेवातालमा डुङगामा चढेर तालबाराही मन्दिरमा पुग्नु थियो । हामी ग्रुप छुट्टाएर डुङ्गामा चढ्योँ। फोटो भिडियो टिकटक सबै बनाइयो अनि डुङ्गामा मज्जा लिदै मन्दिरमा आइपुग्यौं । मन्दिरको दर्शन गरि त्यहाँका दृश्य अवलोकन गर्न थाल्यौँ । तालमा रहेका माछाले दाना खानको लागि पानी सतहसम्म आउदाको दृश्य मज्जा लाग्यो मलाई । २/४ वटा फोटा खिचेर अब फर्किन थाल्यौं । आज राति सम्म हाम्रो गन्तव्य घान्द्रुक गाउँ सम्म पुग्नु थियो । त्यसैले हामी व्यवस्थापनका साथिहरु अलिक आत्तेदै सबैलाई अत्ताएका थियौँ किनकि त्यति नगरेसम्म हाम्रा साथिहरुको फोटा, भिडियो, टिकटक बनाएर भ्याउदैनन् । हामी फेरि डुङ्गा चढेर फर्कियौँ । हामी आउदा गाडी थिएन हामी अचम्मित भयौं । हामीले चालकलाई फोन गरेर बुझ्दा गाडी बनाउन गएको र एकैछिन समय लाग्ने जानकारी आयो हामी हिड्दै हिड्दै अगाडी पुग्यौं । हिड्दै गर्दा गाडी आयो हामी लाग्यौं सराङकोटतिर ।
दिउँसो २ बजिसकेको थियो । शाहसिक खेल प्याराग्लाइडिङको ठाउँमा केही छिनको बस यात्रा पछि पुग्यौं । हामी प्याराग्लाइडिङ गर्ने समय कम थियो हामी पोखराको आकाशमा उड्न पाएनौ । प्यारमग्लाइडिङ हेर्ने क्रममा एउटा प्याराग्लाइडिङ एक्सिडेन्ट्मा पर्यो । हावाको वेग नमिलेका कारण उड्न सकेनछ क्या र त्यहिभएर सिधै तल पट्टीको रुख तथा झाडीमा खस्यो धन्न कसैलाई केही भएन । १/२ वटा फोटा तथा उडेको भिडियो समेत खिच्न भ्याइसकेपछि हाम्रो यात्रा पुनः सुरु भयो घान्द्रुक सम्मको ।
नेपालको उत्तरी मध्य भागमा पर्ने एउटा सानो अनि सुन्दर गाउँ हो घान्द्रुक गाउँ । नेपालको सात प्रदेश मध्ये गण्डकी प्रदेशको कास्की जिल्लामा पर्ने आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य स्थान हो । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका १० मा घान्द्रुक गाउँ पर्ने रहेछ ।
हामी बेलुका करिब ७ बजे तिर घान्द्रुक गाउँ पुग्यौं । होमस्टे पहिल्यै बुक गरिसकेका थियौँ । होमस्टेमा पुगेर सबैजना फ्रेस भयौं । अनि रात्रिकालिन खाना खायौं । रात्रिकालिन क्याम्पफाएर हान्दै रमाइलो गर्नु पर्छ भन्ने सल्लाह अनुरुप हामी रमाइलो गर्न तर्फ लाग्यौं । साथि ले गितार लैजानुभएको थियो । उहाँले गितार साथि कोसिस विश्वकर्माले मादल बजाए हामी भने नाच्यौं रमाइलो गर्यौैँ । घान्द्रुकको जाडो छल्न आगो ताप्दै स्पिकरमा गित बजाउदै पनि नाच्न थाल्यौं सायद यहि होला जिन्दगीको रमाइलो क्षण । राति १० बजे पछि रमाइलो गर्न निषेध गरिएको रहेछ । हामी सुत्न गयौं आआफ्नो कोठामा । दिनभरीको थकाईले होला ओछ्यानमा जान साथ भुसुक्कै निदाइएछ । यसरी भ्रमणको दोस्रो दिन सकियो ।
भ्रमणको तेस्रो दिन पुस १८ गते एका बिहानै हल्लाखल्ला मच्चियो, म त मस्त निद्रामा थिए । घान्द्रुक गाउँबाट हिमाल देखिन्छ भन्ने सुनेको थिए तर अघिल्लो दिन राति आएको कारण केही देख्न पाइएको थिएन । एका बिहान ती सेतै दाँत झै टल्केका हिमाल देखेर हल्लाखल्ला मच्चाएका रहेछन साथिहरुले । बिहानै सुर्योदय हुनुभन्दा पहिल्यै हामी माथि गयौं आनन्दको महशुस लिदै फोटा खिच्न सुरु भयो । अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल र हिमालचुलीको काखमा हामी रहेछौं । हामीलाई आनन्दको महशुस भयो । एकछिन पछि सुर्योदय भयो । सुर्योदयको आनन्दले स्वर्गमा आएको महसुस भयो ।
बिहान ८ बजे खाजा खाएर पुरानो गाउँ घले गाउँ र म्युजियमको अवलोकनमा निस्क्यौ । कस्तो मिलाएर बनाएका जस्ता घर, बाहिर मिलेका ढुङ्गा, लाइन बद्ध घरहरु जहाँ गएपछि नेपाली पनको आभाष भयो । म्युजियममा गयौं टिकट काटेर भित्र गएर हरेको चिजको अवलोकन र जान्ने मौका पायौं । बाहिर आएर हामी सबैको ग्रुप फोटो खिच्यौं हाम्रो ग्रुप सबैले मन पराए हाम्रो फोटो समेत खिचेर राखे । त्यहाँ गुरुङहरुको गाउँ भएकोले हुनसक्छ गुरुङ्ग ड्रेस लगाउने व्यवस्था रहेछ । गुरुङ्ग ड्रेस मन पराउने साथिहरुले ड्रेस लगाउन थाल्यौं । गुरुङ्ग ड्रेसमा सबैलाई कति सुहाउँदो रहेछ सबैलाई क्या राम्रो देखिने । गुरुङ्ग ड्रेस लगाएका साथिहरुले फोटो, टिकटक बनाइसकेपछि अब हामी फर्कने निर्णय गर्यौं । दिउँसो २ बजिरहेको थियो । हाम्रो गन्तव्य स्थान नै घान्द्रुक गाउँ थियो । हाम्रो भ्रमण रमाइलोको लागि मात्र थिएन शैक्षिक भ्रमण भएकाले घान्द्रुकको प्रतिबेदन बनाउनु थियो । घान्द्रुकको बारेमा धेरै कुरा बुझ्ने अवसर प्राप्त भयो ।
अन्नपूर्ण क्षेत्रको सबैभन्दा लोकप्रिय पदयात्रा मार्ग भएकोले सबैको मनमुटुमा बस्न सफल भएको रहेछ । गुरुङहरूको परम्परागत पहिचान झल्काउने तथा वातावरणमैत्री बसोबास नै यस गाउँको मुख्य आकर्षण हो । साथै यहाँबाट देखिने हिम श्रीङ्खलाले गर्दा पनि सबैलाई आकर्षण गर्दछ । घान्द्रुक गाउँ समुन्द्री सतहबाट २०१२ मिटरको उचाइमा रहेको छ । घान्द्रुक आफैंमा अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल र हिमालचुलीको काख हो । एका बिहानको सुर्योदय सँगै नजिकैका हिमालहरु हेरेर मज्जा लिन सो ठाउँ पुग्नै पर्छ । विशेषगरी नेपालीपनको आभाष दिलाउने ठाउँ हो घान्द्रुक भन्दा फरकै पर्दैन ।
घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य स्थान मध्ये एक हो । पदयात्रा मन पराउने हरुका लागि उत्कृष्ट स्थानका रुपमा लिन सकिन्छ । छोटो पदयात्रा मन पराउने पदयात्रीहरूमा अन्नपूर्ण घान्द्रुक पदयात्रा लोकप्रिय छ । पोखराबाट नयाँपुलसम्मको एक घण्टाको यात्रापछि पदयात्रा सुरु हुन्छ । नयाँपुल पुगेपछि घान्द्रुकको पदयात्रा सुरु हुन्छ तर पदयात्रा गर्न नचाहानेहुका लागि पनि सडकको सुविधा छ घान्द्रुक गाउँसम्म पुग्नको लागि । जहाँ पुगेपछि स्वर्गमा पुगको अभाष दिलाउदछ ।
गुरुङको संस्कृति, धर्म, पेशा, चाडपर्व, वेशभूषा, खानपिन आदि बारे धेरै जानकारी दिने गुरुङ सङ्ग्रहालय छ । जहाँबाट तपाईंले गुरुङ्गको मात्र नभई नेपालीहरुको पुराना संकृति झल्कने खालका वस्तुहरुको अवलोकन गर्न पाउनुहुन्छ । घान्द्रुक गाउँमा पुगिसकेपछि तपाईंले पुरानो गाउँ घले गाउँको पनि अवलोकन गर्न सक्नुहुने छ । जुन गाउँमा पुराना घरहरु एकैनास तरिकाबाट बनाइएको छ । जसले गर्द पनि नेपालीपनको आभाष दिलाउछ । गान्द्रुक पदयात्राले तपाईंलाई ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६९९७ मिटर अग्लो माछापुच्छ्रे हिमाल तथा हिमालचुली को उत्कृष्ट दृश्य प्रस्तुत गर्दछ । जसलाई हामीले नजिकैबाट नियाल्न सकिन्छ ।
बेलुका ४ बजेतिर हामी त्यहाँबाट हिड्यौं । अनि रात्रिकालिन यात्रा मनकामना सम्मको लागि तय गर्यौं । कास्किको घान्द्रुकबाट पोखरा हुँदै लाग्यौं मनकामनातिर । बेलुकाको ९ बजिसकेको थियो हामी दमौली पुगेसी त्यही बस्ने निर्णय गर्यौं अनि बिहान हिडेर मनकामना केवलकार चढेर मन्दिरमा पुजा गर्ने सल्लाह गर्यौँ । त्यही अनुसार त्यो १८ गतेको रात दमौलीमा बितायौँ । भ्रमणको चौथो दिन अथवा अन्तिम दिन १९ गते बिहानै हामी दमौलीबाट मनकामना तिर हानियौँ । करिब एक डेढ घण्टाको यात्रापछि हामी कुरिनटार पुग्यौं हामीले छिटोछिटो गर्दै केबलकारको टिकट काट्यौं । अनि केवलकार चढेर १५ मिनेटको समयपछि मनकामना मन्दिरमा पुग्यौं । त्यहाँपनि फोटो, भिडियो खिचेपछि एकछिन त्यतै रमायौं । मनकामनाको चिनो स्वरुप फोटो बनाउने तथा सामान किन्न तर्फ लाग्यौं, खाजा नास्ता गरेर अब हाम्रो भ्रमण सकियो । हामीले बिच बाटो नारायणगढमा आएर खाना खायौं । अनि हामी सबैजना बुटवल आयौं बुटवल आउदा करिब ५ बजिसकेको थियो । यसरी कलेजले प्रदान गरेको शैक्षिक अवलोकन अवसर हामीले ४ दिनमा सक्यौं । यसबाट हामीलाई रमाइलो हुनाको साथ धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । कलेज परिवारलाई धेरै धेरै धन्यवाद ।। (आजको लुम्बिनीखबरमा छापिएको छ)