बुटवल । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका राजनीतिक दलहरु भ्रष्टचारमा चुर्लुम्म डुबेको बताएका छन् । सोमबार पूर्वी नवलपरासीको कावासोतीमा राप्रपा गण्डकी प्रदेश समितिले आयोजना गरेको आम सभालाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक दलका नेताहरु गाउँमा जाँदा चोर आयो भन्ने गरेको समेत कार्यक्रममा दोहोर्याए । उनले सत्ताधारी दल मात्र होइन प्रतिपक्षमा रहेका दलहरु पनि भ्रष्टचारमा चुर्लुम्म डुबेको आरोप लगाए । उनले काँग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी पार्टी सबैका नेताहरु भ्रष्टचारी भएको आरोप लगाउँदै अब राप्रपाले भ्रष्टचारलाई जरैदेखि उखेलेर फाल्ने दावी गरे ।
अध्यक्ष लिङ्देनले नेपालका राजनीतिक दलहरुले राजाको विरोध गरे आफू र आफ्नो दल बचिरहन्छ भनेर राजसंस्था र राजतन्त्रको विरोध गर्ने गरेको भए पनि अब राजतन्त्रकै विरोध गरेको भरमा राजनीतिक गर्ने दिन गएको दावी गरे ।
२०६२÷०६३ को जनआन्दोलन पछि घटना सम्झदै लिङ्गदेङ्गले भने – हामीले राजतन्त्रको पक्षमा वकालत गरे । तेति बेला मलाई ८ दल मिलेर मराणासन्न हुने गरी कुटेर फाले । राजसंस्था र राजा नेपालको पहिचान हो राष्ट्रिय पहिचान हो । त्यसैले हामी राजतन्त्रको पक्षमा लागेका छौं ।
उनले देशमा स्थायित्व कायम राख्न, राष्ट्रियता जोगाउन राजतन्त्र आवश्यक रहेकोमा जोड दिए । त्यसैगरी उनले सर्वधर्म सम्पन्न सदातन सहितको हिन्दु राष्ट्रको पक्षमा राप्रपा रहेको बताए । उनले नेपालमा सबै धर्म अट्नु पर्नेमा जोड दिंदै तर नेपालमा हिन्दु राष्ट्र भने आवश्यक रहेको दावी गरे ।
उद्घाटन सत्रमा राप्रपाका नेता विक्रम पाण्डे लगायतका केन्द्रिय स्तरका नेताहरुले पनि सम्बोद्धन गरेका थिए । यसैबीच राप्रपा गण्डकी प्रदेशको विस्तारित वैठक पनि सोमबारबाट नवलपुरमा शुरु भएको छ ।