कञ्चनपुरमा भारतीय नम्बरको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
आइतबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका- २ बाणीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतीय नम्बरको कारले ठक्कर दिँदा बाणीका तारा नाथको मृत्यु भएको प्रहरीले बताएको छ।
आइतवार बिहान डीएल १ जेडसी ४७४० नम्बरको जीपको ठक्करबाट स्थानीय ७० वर्षीय तारा नाथको मृत्यु भएको हो । ठक्करबाट घटनास्थलमै नाथको मृत्यु भएपछि बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ।
बिहान ७ बजे सडक क्रस गर्ने क्रममा जीपको ठक्कर दिदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले बताए । अहिले जीप चालक बिरेन्द्र सिंह फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले बताए । ‘जीप चालकको खोजी भइरहेको छ,’ उनले भने, ‘जीप हाम्रो नियन्त्रणमा छ ।’