काठमाडौँ : १० रुपैयाँमा पनि लुगा पाइन्छ! झट्ट सुन्दा तपाईंलाई के भनेको होला भन्ने लाग्न सक्छ। तर, यो सत्य हो १० रुपैयाँमा पनि कपडा पाइन्छ। त्यो पनि राजधानीमा। काठमाडौंको सामाखुसीस्थित टाउनप्लानिङमा रहेको सुखवती स्टोर, जहाँ तपाईंले छानीछानी १० रुपैयाँमा सर्ट–प्यान्ट किन्न पाउनुहुन्छ।
सर्ट, टिसर्ट, भेस्टलगायतका बच्चादेखि पाका उमेरसम्मका व्यक्तिलाई हुने कपडा पाइन्छ। सुखावती स्टोरका सञ्चालक चिजमान गुरुङका अनुसार १० रुपैयाँदेखि ६ रुपैयाँसम्मका कपडा यहाँ बिक्री हुने गरेको छ। ‘कपडाको गुणस्तर हेरेर मूल्य निर्धारण गर्ने गरेका छौं। केहीको मूल्य १० रुपैयाँ छ भने केहीको मूल्य २०, ५०, ३०, १००, २५०, ५०० र ६०० सम्म छ’, उनले भने।
१० रुपैयाँमा बिस्कुटसमेत आउन छाडेका बेला यति सस्तोमा कपडा बेच्न कसरी सम्भव भयो? सुखावती स्टोरका सञ्चालक गुरुङ भन्छन्, ‘यहाँ होलसेलबाट वा कपडा उद्योगबाट किनेर लुगा बेचिँदैन। यहाँ सर्वसाधारणले दिएका लुगा संकलन गरेर, त्यसलाई रिमेक गरेर बेचिन्छ।’ उनको भनाइमा यहाँ नयाँ लुगा होइन नयाँजस्तै लुगा बेच्ने गरिन्छ। अर्थात् सेकेन्ड ह्यान्ड कपडा बेचिन्छ।
‘हुनेखानेसँग काम लाग्ने पुराना कपडा संकलन गर्ने र हुँदा खानेलाई सस्तो बेच्चे माध्यम हौं हामी। हामीले विगत ७ वर्षदेखि यही गरिरहेका छौं। जसबाट हजारौँ व्यक्ति लाभान्वित भएका छन्।’
‘पुरानो भएको, सानो भएको वा धेरै भएको लुगा सर्वसाधारणबाट संकलन गर्छौ, त्यसलाई धुन्छाैं बटम, चेन नभएको भए हाल्छौं र सस्तो दरमा बेच्ने गर्छौं’, उनले भने। उनका अनुसार यो स्टोर अत्यन्त न्यून आय भएका व्यक्तिलाई केन्द्रित गरेर खोलिएको हो। ‘हुनेखानेसँग काम लाग्ने पुराना कपडा संकलन गर्ने र हुँदा खानेलाई सस्तो बेच्चे माध्यम हौं हामी। हामीले विगत ७ वर्षदेखि यही गरिरहेका छौं। जसबाट हजारौँ व्यक्ति लाभान्वित भएका छन्’, सञ्चालक गुरुङले सुनाए।
त्यसो त यहाँ निम्न आय भएका व्यक्ति मात्रै होइन, मध्यम वर्गका व्यक्ति पनि आउने गरेका छन्। ‘पछिल्लो समय जागिरेहरु र विद्यार्थी बढी मात्रा आउने गरेका छन्। मजदुर वर्ग त पहिलेदेखि नै आउँथे, पछिल्लो समय अझै बढेका छन्’, उनले भने, ‘सहरी गरिबीलाई सबैले बेवास्ता गरिरहेका छन्। हामीले तिनै गरिब वर्गलाई लक्षित गरेर यो योजना सुरु गरेका हौं।’
कसरी जन्मियो १० रुपैयाँमा लुगा बेच्ने योजना?
कास्की पोखराका ४८ वर्षीय चिजमान गुरुङ रोजगारीको सिलसिलामा सन् १९९३ मा कोरिया पुगे। उनले गार्मेन्ट कारखानामा काम गर्न सुरु गरे। गार्मेन्टबाट हुने आम्दानीले मात्रै पुगेन, होटलमा समेत काम गर्न थाले। सन् २००२ मा स्वदेश फर्किए। करिब ५ वर्ष देशमै रमाएका उनी फेरि सन् २००७ मा कोरिया हान्निए।
यसपटक उनले एउटा स्टोरमा काम गर्ने मौका पाए। जहाँ पुराना लुगा, जुत्ता, ब्याग, भाँडा लगायत थुप्रैसेकेन्ड ह्यान्ड सामानलाई रिमेकिङ गरेर निम्न आय भएकाहरुलाई सस्तोमा बेचिन्थ्यो। त्यहाँ काम गर्दागर्दै उनको मनमा आफूले पनि यस्तो गर्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो। ‘विकसित देशमा त पुराना कपडा बेचेर आवश्यक पर्नेलाई सहयोग गरिन्छ भने नेपालमा किन सकिँदैन भन्ने लाग्यो। अनि यो काम थाल्ने योजना बनाएँ’, उनले भने।
सन् २०१२ मा नेपाल फर्किएका उनले आफ्नो आइडिया साथीभाइलाई सुनाए। धेरै साथीहरुसँग सल्लाह लिए। उनी भन्छन्, ‘सुरुमा त कन्भिन्स गराउँनै सकस भयो। तर, जतिलाई कन्भिन्स गराएँ ती सबैले गज्जब आइडिया भनेर हौसला दिए।’ सन् २०१४ मा सामाखुसीस्थित टाउन प्लानिङमा खोले सुखावती स्टोर।
सुरुमा पैसा थिएन। पैसा नभएका कारण उनलाई काम गर्ने आँट आएको थिएन। वैदेशिक रोजगार व्यवसायी पदमराज पौडेलले उनको योजना मन परेछ। ५० हजार रुपैयाँ सहयोग दिए। अनि यो काम गर्ने हिम्मत बढेको सुनाउँछन् उनी।
विभिन्न मेला र ठाउँमा राखिएको बिक्री कक्षबाट रु एक लाख २० हजार आम्दानी भएको सुखावती फाउन्डेसनका कोषाध्यक्ष कमला गुरुङले बताए। उनले सो पसलमा स्वयम्सेवकका रुपमा काम गरेका छन्।
उनीजस्तै केशकुमारी राना, लक्ष्मीदेवी गुरुङ, रञ्जना तामाङ, कल्पना गुरुङ, संगु सुब्बाले पनि स्वयम्सेवकका रुपमा काम गरेका छन्। “दश बीस रुपैयाँमा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ भनेर किनमेल गरेर जान्छन्,” कोषाध्यक्ष गुरुङले भने।
यस्तो पसल उपत्यका बाहिर फैलाउने उद्देश्य रहेको प्रतिष्ठानका महासचिव राजेन्द्रबहादुर लामाले बताए। “खाली खुट्टा तरकारी बेच्दै आएको व्यक्तिदेखि माग्दै आएको व्यक्तिसम्मले रु १० मा जुत्ता र रु १० को पाइन्ट लैजाने गरेका छन्,” लामाले भने। कपडा, भान्साका सामान, विद्युतीय सामग्री, गमला र प्रयोगमा आउन सक्ने जुनसुकै सामान त्यहाँ बेचिन्छ ।
उक्त पसलमा रु १० देखि ८० सम्मका सर्ट तथा रु ४० देखि १०० सम्मको जिन्सपाइन्ट बेच्न राखिएका छन् । प्रतिष्ठानमा १३ स्वयम्सेवक छन् । दुई जनाले रोजगारी पाएका छन् ।
प्रतिष्ठानले भूकम्प गएको समयमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काभ्रेका पाँच हजारभन्दा बढी घरपरिवारलाई ब्युटिफुल स्टोर कोरियाको सहयोगमा सिरक वितरण गरेको थियो । ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा नुवाकोटको गामबेँसी निम्न माध्यमिक विद्यालयको भवनसमेत निर्माण गरेको छ ।