काठमाडौ :- काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा अचानक जमिन मुनीवाट ग्यास निस्किए पछि स्थानिय त्रसित भएका छन् ।
कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बुधबार बोरिङको पाइप राख्नका लागि खन्नेक्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका बोरिङ खन्नेक्रममा ग्यासको मुस्लो निस्किएपछि स्थानिय त्रसित भएका हुन् । बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन्।
सुरुको चार घण्टा तीव्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलोसमेत निस्किएको छ। ग्याससँग निस्किएको हिलो र ढुंगा आसपासका घरहरुमा पुगेपछि स्थानीय त्रसित बनेका हुन्। ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल खबर गरिएको थियो । तर अहिलेसम्म कुनै पहल नभएको स्थानियले बताएका छन् । भूगर्भ विभागबाट आएका प्रतिनिधिले पनि पछि आफै ग्यास निस्कन बन्द हुन्छ भनेर फर्किएको स्थानियले बताएका छन् ।
बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करिब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुंगा नजिकका घरहरुमा झरेर फोहर बनाएको छ। यसअघि जेठमा पनि यस क्षेत्रमा ग्यास निस्किएको थियो।
काठमाडौंको दक्षिणी भेगमा करिब २५० देखि २८० मिटरसम्मको गहिराईमा डिप ट्युबेलका लागि खन्दा ग्यासको पकेट छेडिएर निस्किने गरेको खानी तथा भूगर्भ विभागले जनाएको छ। विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले बुधबार पनि ग्यास भएको ठाउँमा छेडिएको कारण उक्त ग्यास निस्किएको बताएका छन्।