काठमाडौं । एक समय थियो, गीत कति हिट र त्यसबाट कति आम्दानी भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो । म्युजिक कम्पनीले क्यासेट बिक्री गरेको आधारमा गायक/सर्जकले रोयल्टी पाउँथे । अहिले जमाना फेरिएको छ। गीत हिटको मापन र आम्दानीको मुख्य स्रोत यु’ट्युब बनेको छ । धेरै कलाकारहरुले यु’ट्युब च्यानल खोलेर आफ्ना गीत आफ्नै च्यानलमा अपलोड गर्ने गरेका छन् । यु’ट्युबमा हरेक दिनजसो नयाँ-नयाँ गीत सार्वजनिक भइ रहेका हुन्छन् । सार्वजनिक भएका मध्ये धेरै गीतले राम्रो भ्युज भने पाउन सकिरहेका हुँदैनन् ।
तर, केही गीतहरुले भने स्रोता/दर्शकको मन जित्दै यु’ट्युबमा राम्रो भ्युज पाइरहेका हुन्छन् । ती गीतहरुले लगानी कटाएर नाफा समेत गरिरहेका हुन्छन्। एक साताअघि मात्रै ‘रमरम मरौटी’ बोलको गीतको भिडियोले यु’ट्युबमा एक करोड भ्युज पार गर्यो। सार्व जनिक भएको एक महिनाको अवधिमा खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वर, पूजा शर्मा र ओबी रायमाझीको अभिनय रहेको गीतको भिडियो लाई एक करोड बढी पटक हेरिएको हो । यो गीतको भिडियो ‘ओबी रायमाझी’को आफ्नै यु’ट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
त्यस्तै,‘पिपल छेउमा बर’ बोलको गीतको भिडियोको भ्युज एक करोड पुग्यो। प्रविशा अधिकारी र रोशन सिंहको स्वर तथा विमल अधिकारी र अनु शाहको अभिनय रहेको गीतको भिडियो भने गत वर्ष सार्वजनिक भएको हो।यो मोडल विमल अधिकारीको म्युजिक कम्पनी ‘भावना म्युजिक सोलुसन’ मार्फत सार्वजनिक गीत हो । यी दुई गीत पछिल्लो समय करोड क्लबमा प्रवेश गरेका प्रतिनिधि गीतहरु हुन् । यसअगाडि दर्जनौं गीतले युट्युबमा करोड भ्युज पार गरिसकेका छन् । लगानी कर्ताहरुका अनुसार युट्युबबाट हुने आम्दानीमा एकरुपता हुँदैन । ‘रमरम मरौटी’ले एक करोड भ्युज पुग्दा कति आम्दानी गर्यो ?
लगानीकर्ताले नखुलाएपनि ‘पिपल छेउमा वरबाट झण्डै पाँच लाख रुपैयाँ आम्दानी भएको विमल अधिकारीले बताए । म्युजिक भिडियोमा युट्युबको कमाइबारे भने, ‘नोभेम्बर–डिसेम्बरमा अपलोड गरेका भिडियोबाट अलि धेरै आम्दानी हुन्छ । जनवरीपछि फेरि यु ट्युबबाट हुने आम्दानी घट्छ ।’ भिडियोको समयले पनि आम्दानीमा फरक पार्ने उनी बताउँछन् । त्यस्तै, कुन देशबाट बढी हेरियो भन्नेले कुराले पनि आम्दानीमा फरक पार्ने उनको भनाइ छ। नेपालबाट भन्दा विदेशबाट धेरै हेरिएको भिडियोको आम्दानी बढी हुन्छ । नोभेम्बर–डिसेम्बरमा गुगल विज्ञापन बढी हुने हुँदा धेरै आम्दानी हुने अधिकारीले बताए ।
‘केन्द्र मोसन पिक्चर्स’बाट सार्वजनिक भएका केही गीतले करोड बढी भ्युज पाएका छन् । जसमध्ये ‘आँखामा आउने सपनीले १ करोड ६० लाख भ्युज पाउँदा ८ लाख आम्दानी भएको ‘केन्द्र मोसन पिक्चर्स’का म्यानेजर सागर लामिछानेले जानकारी दिए। उनका अनुसार पनि एक करोड भ्युज जाँदा कति आम्दानी हुन्छ ? भन्ने ठ्याक्कै भन्न सकिँदैन । ‘यति भ्युज जाँदा यति आम्दानी हुन्छ भन्ने हुँदैन । दर्शकले भिडियो कति मिनेट हेरे भन्नेमा भर पर्छ । ४ मिनेट र ८ मिनेटका दुई भिडियोले एक करोड भ्यु’ज पाएका छन् भने ८ मिनेटको भिडियोबाट आउने आम्दानी बढी हुन्छ,’ लामिछानेले भने ।
उनले पनि नोभेम्बर–डिसेम्बरमा बढी आम्दानी हुने बताए । त्यस्तै विदेशबाट धेरै हेरिएको भिडियोको आम्दानी पनि बढी हुने उनको भनाइ छ ।केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक भएका ‘फुलबुट्टे सारी’, ‘टाढा भएपनि’ गीतको भिडियोको आम्दानी नखुलाइए पनि यी गीतबाट राम्रो आम्दानी भएको लामिछानेले बताए । उनले भने, ‘यति भन्छु, ती गीतले अन्य ७–८ वटा म्युजिक भिडियो बनाउन पुग्ने आम्दानी गरे ।’ ‘फुलबुट्टे सारी’ले सोमबार दिउँसोसम्म यु’ट्युबमा ७ करोड १२ लाख बढी भ्युज पाएको छ भने ‘टाढा भए पनि’को भ्युज ४ करोड ८३ लाख बढी छ ।
गायक एवं निर्देशक सरोज वलीको ‘गज्जब टीभी’ मार्फत सार्वजनिक केही म्युजिक भिडियोले करोड बढी भ्युज पाएका छन् ।सरोज पनि म्युजिक भिडियोबाट आउने आम्दानी बारे ठ्याक्कै भन्न नसकिँने बताउँछन् । उनले भने, ‘कुनै गीत करोड पटक हेरिँदा थोरै आम्दानी भएको छ । कुनै गीतबाट भने एकदमै राम्रो आम्दानी भएको छ ।’
उनले दुई गीतको आम्दानीबारे उदाहरण दिँदै भने, ‘‘मायालु तिमी कता छौ’ गीत १ करोड १२ लाखले हेर्दा ३ लाख रुपैयाँ मात्र आम्दानी भएको छ।‘माया गरौंला’ भन्ने गीत १ करोड ७० लाखले हेर्दा १० लाख रुपैयाँ आएको छ ।’ उनले पनि यु’ट्युबको कमाइ नोभेम्बर–डिसेम्बरमा धेरै हुने, विदेशको भ्युजमा बढी हुने आफूले बुझेको बताए । उनले लामो र छोटो समयको भिडियोले आम्दानीमा फरक नपार्ने बताउँदै भने, ‘लामो भिडियो पनि दर्शकले कति मिनेट हेर्छन् भन्नेमा भर पर्छ। भिडियो लामो छ, तर दर्शकले थोरै मात्र हेरे भने आम्दानी पनि थोरै हुन्छ ।’