काठमाडौं, कात्तिक ३० – मेरो गणना: मेरो सहभागिता भन्ने नाराका साथ १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । जनगणनाले मुलुकको जनसंख्या मात्रै बताउने छैन्, व्यक्ति र परिवारको समग्र अवस्थादेखि संघीयता र समावेशीताको असली चरित्रसमेत देखाउने छ ।
राज्य पुनर्संरचनापछि पहिलो पटक हुन लागेको जनगणनामा देशभर ४० हजार गणक र ८ हजार ५ सय जना सुपरिवेक्षक खटिएका छन् । उनीहरुले ६ हजार ७ सय ४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवासुविधा, पूर्वाधार र विपद अवस्थाको जानकारी समेत लिनेछन् ।
प्राप्त खबर अनुसार जनगणना गर्न खटिएको एक महिला गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा लमजुङबाट पक्राउ परेकी हुन् । धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्याएका थिए ।
स्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।
गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए ।