वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको हुनुपर्छ ।वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक गरेको छैन भने श्रम नवीकरण गर्न नेपाल नै आउन पर्छ ।बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा गर्दा गरेको हुनुपर्छ । यदि यसो गरेको छ भने अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ ।
अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् या भौतिक रूपमा नै उपस्थित भएर लिँदा होस् अनिवार्य रूपमा अनलाइनमार्फत टोकन अर्थात् समय लिन पर्छ । यदि भौतिक रूपमा नै श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिनुपर्छ ।
यस्तो टोकन आफूलाई पायक पर्ने श्रम कार्यालयको लिन सकिन्छ । टोकनमा तोकिएको मितिमा कार्यालयमा उपस्थित भई पुनः श्रम स्वीकृति लिन सकिन्छ । अनलाइनमार्फत हो भने टोकनको समयदेखि ३ देखि ४ दिन लाग्ने विभागले जनाएको छ ।
यदि बिदामा नेपाल आउनुभएको छ भने टिकट काट्नुअघि आफ्नो श्रम अनिवार्य रूपमा जाँच गर्नुपर्छ । विदेश उड्ने मितिले ९० दिनको श्रम अवधि नभएमा वैदेशिक रोजगारीमा जान पाइँदैन ।