ताप्लेजुङ :- पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको अभियोगमा एक युवकलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका ५ साँवाका कमल लिम्बु रहेका छन् ।
उनको साथबाट म्यागजिन सहितको पेस्तोल १ थान, गोली २ थान र दाप सहितको खुकुरी १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश कुमार अधिकारीले जानकारी दिए ।
पक्राउ परेका लिम्बूले मेरिङदेन गाउँपालिका ६ नाल्बुका २६ वर्षीय बिनोद नाल्बो लिम्बूलाई कन्चटमा पेस्तोल ताकी ज्यान मार्ने धम्की दिएर फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका लिम्बूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेरिङदेन गाउँपालिका ६ बाट विहिबार पक्राउ गरेको थियो ।
विनोद नाल्बोको ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना शिर्षकमा दिएको जाहेरीका आधारमा कमललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कमल विरुद्ध ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जनाइएकाे छ ।