नुवाकोट, २४ कात्तिक । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा जुवाको खालबाट ६ जना जुवाडे पक्राउ परेका छन् । बट्टारको रातो भाले नाम गरेको होटलबाट उनीहरुलाई मंगलवार राती साढे ७ बजेतिर ५८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीले गोप्य सुचनाको आधारमा होटल संचालक राम शाहसहित अन्य ५ जनालाई पक्राउ गरिएको जनाएको छ । शाह नुवाकोटको लिखु गाउँपालिका वडा नंवर ४ चौघडाका नवनिर्वाचित काङ्ग्रेस वडा सभापती हुन ।
पक्राउ पर्ने अन्यमा विदुर नगरपालिका वडा नम्बर १२ का हरिशरण रिमाल, भिमबहादुर तामाङ, विदुर १ का राजकुमार उप्रेती, विदुर ४ का पवनमान श्रेष्ठ र दिनेश श्रेष्ठ रहेका छन् । उनीहरुलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
“जुवातास खेल्दै गरेको अवस्थामा नगद सहित ६ जना पक्राउ – मिति २०७८/०७/२३ गते अं.१९:३० बजेको समयमा जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.०४ बट्टार स्थित रातो भाले होटल एण्ड लजको दोस्रो तल्लामा रहेको कोठामा होटल संचालक साह लगायत अन्य मानिसहरु खालमा बाजी थापी जुवा तास खेली खेलाई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको निम्न ६ (छ) जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई खालमा बाजी थापी राखेको नगद रु ५८,७१०/- (अन्ठाउन्न हजार सात सय दश) र १ बुक तास समेत कानून बमोजिम बरामद गरी निजहरुलाई कानूनी कारवाही अगाडी बढाईएको ।”
१.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.१२ बस्ने हरिशरण रिमाल ।
२.जिल्ला नुवाकोट लिखु गा.पा.वडा नं.४ घर भई हाल ऐ.बिदुर नगरपालिका वडा नं.४ स्थितमा होटल संचालन गरी वस्ने वर्ष ४४ को राम शाह ।
३.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.१२ घर भई हाल ऐ. वडा नं.४ बस्ने वर्ष ३३ को भिम बहादुर तामाङ।
४.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.४ बस्ने वर्ष ३८ को पवनमान श्रेष्ठ ।
५.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.४ बस्ने वर्ष ४५ को दिनेश श्रेष्ठ ।
६.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.०१ बस्ने वर्ष ३४ को राज कुमार उप्रेती ।