काठमाडौं, कात्तिक २३ – सवारी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । आइतबार साँझ करिब ६ बजे पोखरा-बागलुङ राजमार्ग अन्तर्गत गणतन्त्रचोकको जेब्रा क्रसिङमै दुर्घटना भएको हो ।
सो दुर्घटनामा तनहूँ घर भइ हाल पोखरा-५ बस्दै आएका १४ वर्षका शुभम खनालको ज्यान गएको छ । खनाल शान्ति निकेतन स्कूलको कक्षा ९ मा अध्ययनरत थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार ठक्कर दिने सवारीको पहिचान भएको छैन । स्थानियका अनुसार मोटरसाइकल भनिएपनि सीसीटिभी फुटेजमा समेत नदेखिँदा कसले ठक्कर दिएको भन्ने नै भेउ पाउन नसकिएको डिएसपी सुवास हमालले बताए ।
विश्वास आयल पेट्रोल पम्पदेखि दक्षिणतर्फको जेव्राक्रसमा आईतवार साँझ पाँच बजेतिर बाटो काट्नेक्रममा शुभमलाई सवारी साधनले ठक्कर दिई फरार भएको थियो । राजमार्गको पूर्वतर्फको घरमा बस्दै आएका शुभम पश्चिमतर्फको स्टेशनरीमा सामान किनेर घरतर्फ फर्कदै गर्दा सवारीसाधनले ठक्कर दिएर भागेको स्थानीयवासीले बताए ।
ठक्करबाट गम्भिर घाईते बनेका शुभमलाई स्थानीयले सडकमा लडेको अवस्थामा देखेपछि तत्काल उद्धार गरी अस्पतालमा लगेका थिए । टाउकोमा गम्भिर चोट लागेका शुभमलाई तत्काल सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा लगेपनि त्यहाँवाट चरक लगिएको थियो । त्यहाँबाट पनि अर्को अस्पतालमा रिफर गरिएकोमा उनको निधन भएको हो ।
घटनास्थल नजिकै देउसीभैलोको नाचगान चलिरहेकोले पनि सडकमा दुर्घटना हुँदा थाहै नपाएको स्थानिय बताउँछन् । शुभमको शवको सोमवार पोष्टमार्टम गरी दमौलीमा लगेर अन्त्येष्टि गरिसकिएको छ ।