काठमाडौं, २२ कार्तिक :- बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स(कार्गो) एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीको जाहेरीका आधारमा अधिकारीलाई महानगरीय प्रहरी वृत्त मालीगाउँको टोलीले पक्राउ गरेको हो ।
आरोपित ४९ वर्षीय अधिकारीले रातोपुलमा लगेर किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीका अनुसार घटना कात्तिक ८ गतेको हो । घटनापछि पीडितका तर्फबाट अधिकारीविरुद्ध प्रहरीमा बलात्कार अभियोगमा किटानी जाहेरी परेको थियो ।
घटनाको ८ दिनपछि कात्तिक १६ गते अधिकारीलाई प्रहरीले ठमेलबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अधिकारीविरुद्ध किशोरी बलात्कार अभियोगमा अनुसन्धान भइरहेको बताए ।
‘किशोरी बलात्कार आरोपमा अधिकारीविरुद्ध जाहेरी परेको थियो, त्यसकै आधारमा पक्राउ गरी उनीविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएका छौँ,’ एसपी बस्नेतले भने ।