कैलाली -कैलालीमा होटेल सञ्चालकको हत्या आशङ्कामा एक जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ का अन्दाजी ५०–५५ वर्षीय पदम आचार्यको हत्या आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले आचार्यको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई पक्राउ गरिएको जानकारी दिए ।
अहिले सोधपुछ भइरहेको छ उनले भने, “जिल्लाबाट एसपीको नेतृत्वमा टोली आउँदै छ , हत्यामा संलग्न अरू पनि हुन सक्ने भएकाले सोधपुछ पछि मात्रै सार्वजनिक गर्छौँ ।” आइतबार जिल्लाको मोहन्याल गाउँपालिका–४ सिमली खोलाको जङ्गलमा आचार्य मृत फेला परेका थिए ।
उनी विगत केही वर्ष देखी त्याहा होटेल सञ्चालन गर्दै आएका थिए । स्थानीयका अनुसार आचार्य मृत भेटिएको स्थानमा करिब २ मिटर जति घिसारिएको जस्तो देखिएको थियो भने घटनास्थलमा एउटा रड पनि फेला परेको थियो । मृतक आचार्यको टाउको र छातीमा चोट लागेकोले हत्या नै भएको स्थानीयको दाबी थियो ।