उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित निपानेगाउँमा बिजुली पुगेको छ । विकट पहाडी क्षेत्रमा अवस्थित सो गाउँमा लक्ष्मीपूजाका दिन पहिलोपटक बिजुली विस्तार भएर गाउँ झलमल्ल भएको हो ।
यसअघि गाउँमा बिजुली नहुँदा दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको स्थानीयवासी धनबहादुर पुलामी मगर जानकारी दिए । उनले भने, “गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ ।”
त्रियुगा नगपालिका र सो वडा कार्यालयको ३० लाखभन्दा बढीको लगाानी र स्थानीयवासीको श्रमदानबाट साउनेको निपानेमा पहिलोपटक बिजुली पुर्याउन सफल भइएको वडा नं १४ का अध्यक्ष कुरुङ राईले बताए । दश वर्षदेखि निपानेमा बिजुली पुर्याउने प्रयासपछि बल्ल यसपटकको लक्ष्मीपूजाका दिन बिजुली बल्न सफल भइएको वडाध्यक्ष राईको भनाइ छ ।
त्रियुगा नगरपालिकाभरि सबैतिर बिजुली यसअघि नै बलेर झलमल्ल भए पनि आफूहरु लामो समयदेखि गाउँमा टुकी बालेर बस्न बाध्य हुनुपरेको बेलामा बल्ल यसपटक बिजुली बल्दा आफूहरु खुसी भएको मगरले बताए ।
बिजुली बलेपछि निपानेगाउँका १२० घरपरिवार लाभान्वित भएका छन् । जिल्ला सदरमुकाम गाईघाटबाट २५ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित जङ्गलभित्रको दुर्गम निपानेगाउँमा यसवर्ष लक्ष्मीपूजाको दिनदेखि बिजुली बल्न सुरु गरेपछि अहिले सो क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ । रासस