कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन कागपूजा, कुकुरपूजा,गाईपूजा,गोबर्द्धनपूजा र भाई पूजा गरी रमाइलो सङ्ग तिहार मनाइन्छ । पौराणिक कथन अनुसार सूर्यकी पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीयासम्म घरमा राखी विभिन्न कन्दमुल फलफूल खुवाएर प्रसन्न पारी आफ्नो मनोकामना पूरा गरेको संस्मरण स्वरूप पाँच दिन सम्म यो चाड मनाइदै आएको भन्ने भनाइ छ।पाँचै दिन यमराजको पूजा गरिने भएकाले यमपञ्चक भनिएको हो । यी पाँच दिनमा
पहिलो दिन ः
यमपञ्चकको पहिलो दिनलाई काग तिहार भनिन्छ। पशुपंक्षीलाई पनि श्रद्धा गर्ने धार्मिक मान्यता अनुरुप काग तिहारको प्रचलन चलेको हो । कागलाई यमराजको दूत र सन्देशवाहकको रुपमा मानिन्छ । यसले मानिसको उमेर सकिएको खबर यमरजकहाँ चाडै पुर्याउन नसकोस भनेर कागलाई घरघरमा मीठो मीठो खानेकुरा काक बलिका रुपमा दिई खुसी पारिन्छ । कागले वातावरणका फोहोर खाएर सफा राख्न सहयोग पुर्याउछ । त्यसैगरी यस दिन साँझ मूल द्वारमा यमदीप बाल्नाले मृत्युदेव पनि खुसी हुन्छन् र अल्पायुमा मृत्यु हुदैन भन्ने विश्वास रहेको छ ।
दोस्रो दिन ः
दोस्रो दिनलाई कुकुर तिहार अर्थात् नरकचतुर्दशी पनि भनिन्छ । यो दिन नरकका राजा यमराजको दूत मानिने इमानदार प्राणी कुकुरको पूजा गरिन्छ ।
यो अन्यन्तै गुणवान र विश्वासी प्राणी मात्र नभई, घरमा चोरी डकैती हुनबाट बचाउने ,बाटो देखाउने, चोर पत्ता लगाउने आदि गुणहरू भएको प्राणी हो । यस दिन कुकुरलाई माला लगाई मीठा मीठा खानेकुरा दिई यमदूत कुकुरको पूजा गरी यमराजको सम्मान गरिन्छ । त्यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिनमा लक्ष्मीले तेलमा निवास गर्छिन । त्यस दिन शरीरमा तेल लगाउनाले वर्ष भरी धनको कमि हुदैन भन्ने मान्यता छ ।
तेस्रो दिनः
तेस्रो दिन औंसीको दिन हो । जसलाई गाई तिहार भनिन्छ । यसदिन लक्ष्मीको प्रतीकका रुपमा गाईको पूजा गरिन्छ । गाई माता समान हुन् र नेपालीको राष्ट्रिय जनावर पनि हुन् । आयुर्वेदिक शास्त्र अनुसार गोमूत्र र गाईको दुध, घ्यू बाट अनेकौं औषधि बनाउन सकिन्छ । गाईलाई सिङ र खुरमा तेल लगाई जिउभरी चामलको पिठोको छाप लगाएर सिंगारिन्छ र निधारमा टीका घाटीमा माला लगाई मीठा मीठा अन्न एवं घास खान दिईन्छ । रात्रीमा धन दौलतकी देवी लक्ष्मीको पूजाआजा गरिने भएकाले लक्ष्मी पूजा पनि भनिन्छ । लक्ष्मीविनाको मानव जीवन कल्पना सम्म पनि गर्न सकिदैन । धनकी अधिष्ठात्री र माता लक्ष्मीले पूर्ण ऐश्वर्य र आन्तरिक समृद्धि प्रधान गर्दछिन् । यस दिन हरेक घरघरमा झिलिमिली वत्ती बाली घरलाई सिंगारिएको हुन्छ। लक्ष्मी आउछिन् भनेर मूल ढुकुटी बाट गेट सम्म लक्ष्मीका पाइला बनाउने र साँझमा लक्ष्मीको पूजा गरिन्छ । समूहमा जम्मा भएर देउसी भैलो खेल्ने पनि गरिन्छ ।
चौथो दिनः
चौथो दिनलाई गोरूपूजा ,गोवर्धन पूजा भनिन्छ ।
धर्मिक मान्यता अनुसार इन्द्रले पानी पारेर हाहाकार पारेको अवस्थामा भगवान श्रीकृष्णले कान्छी औलाले गोवर्द्धन पर्वतलाई उचालेर गोपाल जाति ग्वालाअरूको संरक्षण गरेका थिए । यसैको स्मरणमा गोवर्धन पर्वतलाई पूजा गरिन्छ । वर्षभर हलो र गाडा तानेर उपकार गर्ने गोरूलाई सिंगारेर पूजा गरिन्छ । गोबरको थुप्रोलाई पर्वतबनाई पूजा गरिन्छ । यस दिन नेवारी समुदायमा म्हपूजा पनि गरिन्छ । आफ्नो शरीर वा आत्माको पूजा गरि मीठा मीठा परिकार बनाई खाने परम्परा छ। यो दिन मान्छेले आफैंलाई सम्मान गर्ने र आत्मा सन्तुष्ट गरि आत्मा को पूजा गर्दछ्न।यसै दिनलाई नेपाल संवतको आरम्भ दिन पनि मानिन्छ । नेवाहरूको नयाँ वर्ष पनि हो। ने. सं.को प्रारम्भ इ. सं.८८० बाट सुरु भएको हो । अहिले ने. सं. ११४२ सुरु हुदैछ । नेवारहरूको सम्पूर्ण चाडपर्वहरु नेपाल संवतको पात्रोअनुसार नै मनाइन्छ ।
पाचौं तथा अन्तिम दिनः
तिहारको पाँचौ दिन बढी ालेकप्रिय हुँदै गएकोछ ।
यस दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई उत्तम साइतमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको कामना गर्दै पूजा गर्छन् । निधारमा सप्तरङ्गी टीका लगाई गलामा मखमली, दुबो,सयपत्री,र गोदावरीको माला लगाइदिन्छ्न् । घरको मूल ढोकाको संघारमा ओखर फोरेर आफ्ना दाजुभाइको शत्रु हटुन् भन्ने कामना गर्दछ्न् । टीका लगाईदिनुपूर्व दाजुभाइलाई तेल र पानीको घेरा भित्र राखी यमराज बाट सुरक्षित पारेको मान्दछन् । तिहारमा लगाइदिने टीकाको सङ्केत यस प्रकार छ–
रातो–मंगलको सुचक,सेतो– शान्तिको सुचक ,
पहेँलो– दीर्घायुको सुचक,निलो –निरोगिताको सुचक, हरियो – बौद्धिकताको सूचक र अन्य दुई आफ्नो परम्परा अनुसार लगाइदिने भएकाले समृद्धि सुचक मानिन्छ ।
तिहारका बेलामा घरभित्र , बाहिर र वरपर गरिने दीपावलीको अर्को महत्त्वपूर्ण उत्सव हो ।
हामीसँग यदि ज्ञानको दीप छ भने औसीको जस्तो पीडा र अज्ञानको जतिसुक्कौ सघन अध्यरो भए पनि सजिलै हराएर जान्छ । त्यसैले, उज्यालो बालेर भित्र र वाहिरको अध्यारो हटाउने प्रयास गरौं भन्नू दीपावलीको विशेष अर्थ हो ।
विवेकको उज्यालोमा नै ठिक र बेठीकको परिचान गर्न सकिन्छ । त्यसपछि उसले ठिकलाई अपनाउन थालेपछि जीवन समुन्नत हुन्छ । दीपवलीमा बाहिर बालेका दीपहरू निभ्न सक्छन् तर हामीले बालेको ज्ञान र विवेकको दीयो निभ्नेवाला छैनन् । ज्ञानको उच्चतम अवस्थामा पुगेकाहरूको लागि दु:ख- सुख , प्राप्ति अ प्राप्तिले फकर पार्न सक्दैन ।हाम्रो अन्तस्करणमा जव दीप बाल्दछौ तब संसार उज्यालो देख्न थाल्दछौ।
बाहिर बालेका दीपबाट प्रेरित भई भित्र पनि दीपावली गर्न सक्नुपर्छ भन्ने दीपावलीको रहस्य हो।