काठमाडौं, कात्तिक १३-पोखरामा आज नेपाल टेलिभिजनबाट प्रसारण हुँदै अएको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले हुँदै छ ।
पोखराको लेकसाइट बाराही घाटमा ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शोको फिनाले ४ः३० बजे शुरु हुने भएको हो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल रहने उक्त रियालिटी शोलाई नेपाल टेलिभिजनले लाइभ प्रशारण गर्दै छ ।
प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूहले ‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रतिस्पर्धा दिएको छन् । यी दुईमध्ये एउटा समूहले आज उपाधि हात पार्नेछ भनेअर्को समूह स्वतः द्धितीय हुनेछ ।
त्यस्तै, तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूह प्रतिस्पर्धामा छ । यी दुई समूहको प्रतिस्पर्धामा एउटा समूह तृतीय हुनेछ भने अर्को समूहले सान्त्वना स्थान प्राप्त गर्नेछ ।
साँझ ६ बजेसम्मका लागि भोटिङ खुल्ला गरिएको र दर्शकले गरेको भोटको आधारमा दोहोरी च्याम्पियन’को विजेता छनोट गरिनेछ ।
‘दोहोरी च्याम्पियन’को उपाधि जित्ने समूहले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
निर्णायकमध्येका एक रमेश बिजीका अनुसार फिनालेको सुरुआतमा तृतीय स्थानका लागि प्रतिस्पर्धामा रहेका सविन आचार्य- रीता रावतको समूह र राजेन्द्र पाठक-मीना नेपालको समूहको दोहोरी प्रतिस्पर्धा प्रस्तुति हुनेछ । त्यसपश्चात उत्कृष्ट ८ भित्रका अन्य समूहहरूको दोहोरी प्रस्तुति हुनेछ ।
केही चर्चित गायक-गायिकाहरूको समेत कार्यक्रममा विशेष प्रस्तुति रहनेछ । राजु परियार, शर्मीला गुरुङ, शिला आले, रामजी खाँण, पशुपति शर्मा, कुलेन्द्र बि।क।लगायतको प्रस्तुति हुने कार्यक्रम संचालकमध्येका एक बद्री पंगेनीले जानकारी दिए ।