पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिकाले वडा न ८ फेकका कृषकहरूलाई अकबरे खुर्सानी र कुरिलो खेती सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूमा अकबरे खुर्सानी र कुरिलो खेती कार्यक्रम प्रवर्धन गर्ने हेतुका साथ अभियान सञ्चालन गरेको छ । सोही अनुसार वडा न ८ फेकका कृषकहरूलाई अकबरे खुर्सानी र कुरिलो खेती मार्फत उत्पादनमुलक कार्यमा जोडी आत्म निर्भर बनाउनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले पहिलो चरणमा पालिकाका ८ वटै वडाहरूमा पुगी कृषकहरूको अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
अकबरे खुर्सानी र कुरिलो खेती गर्दा थोरै जग्गाबाट धेरै आम्दानी गर्न सकिने भएकोले गाउँपालिकाले पालिकाका ८ वटै वडामा नमुनाको रूपमा अकबरे र कुरिलो खेती विस्तार गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्रमुख रन्जिब कुबरले बताउनुभयाे । कुरिलो खेती र अकबरे खुर्सानीको विस्तारीकरण कार्यक्रम सञ्चालन भए पनि कृषकहरू उत्साहित भएका उनले बताउनुभयाे ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले गाउँपालिकाले रिब्दीकोट गाउँपालिकाका ८ वटै वडालाई अकबरे खुर्सानी र कुरिलो खेती पकेट क्षेत्रको रूपमा विकास गर्नका लागि यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गाउँपालिकामा मकै लगाएतका खेतीहरू जनावरले नोक्सानी गरेकोले कृषकहरूलाई थोरै जग्गाबाट धेरै आम्दानी होस भनी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकाले पहिलो चरणमा पालिकाका करिब ८ वटै वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको र अभियान अन्तिम दिन फेकमा कृषकहरूको उत्साहमुलक उपस्थिति रहेको बताउनुभयो । गाउँपालिकाले बीउ तथा चक्लाबन्दीको लागि प्लास्टिकमा अनुदान प्रदान गरी पालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गरिने उहाले बताउनुभयो ।
कार्यक्रममा वडा न ८ फेकका वडा अध्यक्ष नारायण लामटाङ्गेले गाउँपालिकाले सञ्चालन गरेको अकबरे खुर्सानी र कुरिलो खेतीले कृषकहरूलाई जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयाे । बादर लगाएत जङ्गल जनावरले कृषकहरूको मकै लगाएतका बालीहरूमा नोक्सानी पुर्याएको र थोरै जग्गाबाट धेरै आम्दानी लिनका लागि पनि यो कार्यक्रम कृषकलाई फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र वरिष्ठ कृषि प्राविधिक दिपक भट्टराईले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र रिब्दीकोट गाउँपालिकाका सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । जोनले जिल्लाको माथागढी,बगनासकाली क्षेत्र, रिब्दीकोटको मैनादी क्षेत्रमा अकबरे र कुरिलोको चक्ला बन्दी कार्यक्रम सञ्चालन गरिएको बताउदै हाल गाउँपालिकाका ८ वटै वडा विस्तार गर्न लागेको बताउनुभयाे । अभिमुखिकरण कार्यक्रम रिब्दिकोट ८ फेक ८० जना कृषकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन गाउँपालिकाका कर्मचारी शिव जि सीले सञ्चालन सम्पन्न भएको थियो ।