क्वालालम्पुर, १७ भाद्र ।
वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–४ का ३३ वर्षीय गोपालसिंह विष्टको हिजो बुधबारको दिन मृत्यु भएको हो।
बिगत ३ बर्ष देखि मलेसियाको कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डका रुपमा केलाङ लामा भन्ने ठाउँमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला गार्ड पोस्टमै मृत्यु भएको सोही कम्पनीमा कार्यरत एक नेपालीले बताउनुभयो।
बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका उनको त्यहिँ ठाउँको ठाउँ मृत्यु भएको जनाइएको छ। शवको पोस्टमार्टम गर्न बाकी रहेकोले विष्टको मृत्युको कारण बारे खुल्न सकेको छैन ।
उनको शवको पहिले कोरोना परीक्षण गरि पोस्टमार्टम गर्नको लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ।रोजगारीको लागि उनी ३ वर्ष अगाडी प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया रोजगारीमा आएका थिए।