काठमाडौँ :- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् । बरिष्ठ नेता माधवकुमार नेपालले अलग भएर नयाँ दल गठन गरेसँगै पोखरेलले नेताहरुसँग पटकपटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै दुःख व्यक्त गरेका हुन्।
‘माधव नेपाल लगायत केही साथीहरू संग यसविच म आफैले पनि पटक पटक कुराकानी गरेको छु – छलफल गरेकोछु । तर ती सबै निर्रथक बने ! नेकपा (एमाले)का नेता , कार्यकर्ता, शुभेच्छुकहरूको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन यस विचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको छ ।’ सामाजिक सन्जालमा उनले लेखेका छन् ।
त्यस्तै, पोखरेलले दल विभाजन गरेर नेपालले अपराधपूर्ण काम गरेको टिप्पणीसमेत गरेका छन् । ‘हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको छ ।’ उनले भनेका छन्, ‘दुःखका साथ भन्नुपर्दैछ –यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ ।’
पोखरेलले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने पनि बताएका छन् । ‘यो नेपाली जनताबाट पटक पटक अनुमोदित भएको राजनीतिक पार्टी हो । त्यसैले यो गतिशील पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुनेछैन । फुटको विगत हामी सबैले देखेका- भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा (एमाले) का सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु ।’ उनले भनेका छन् ।