कोरोना संक्रमणको जोखिमबाट बच्न जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै नेपालमा कोरोना संक्रमितको ग्राफ डरलाग्दो गरी बढेको छ ।
निषेधाज्ञा खुकुलो हुनेबित्तिकै मानिसहरुको हेलचेक्रयाइँ बढेका कारण कोरोनाको संक्रमणदर अनुमान गरिएभन्दा दोब्बर जस्तोले वृद्धि भएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने बैठकमा अबको रणनीतिबारे छलफल हुने बताइएको छ ।
बैठकमा कोरोना संक्रमणको हालको स्थिति र रोकथामका उपाय, अवलम्बन गरिनुपर्ने रणनीति र केही दिनअघि जारी गरिएको मन्त्रालयको सूचनामा उल्लेख भएका भइरहको स्थिति, संक्रमणको दर, तेस्रो लहरको जोखिमका विषयमा केन्द्रित भएर छलफल हुनेछ । बैठकले निषेधाज्ञा फेरि कडा बनाउने बुझिएको छ ।
दोब्बरले बढ्यो कोरोना संक्रमणदर
स्वास्थ्य मन्त्रालयले हिजो बिहिबार साँझ दिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३६५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ। त्यस्तै उक्त अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ। त्यस्तै गत २४ घण्टामा १ हजार ३७३ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।
काठमाडौं उपत्यकामा थपिए ८ सय ६० कोरोना संक्रमित
पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५ सय ९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एघार जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित
जारी निषेधाज्ञाका कारण केही कमी आएको संक्रमणदर फेरि ह्वात्तै बढेको छ । एघार जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी ९पूर्व०, कास्की, रुपन्देही गरी ११ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या २४ रहेको छ । त्यस्तै सघन उपचार कक्षमा ६३६ र भेन्टिलेटरमा १६० बिरामी छन् । यसैगरी होमआइसोलेशनमा २७ हजार ३५५ र संस्थागत आइसोलेशनमा तीन हजार ३५ बिरामी रहेका छन् ।