सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त गर्न परमादेश जारी गरेसँगै उपत्यकाको सुरक्षा व्यवस्था कडा परिएको छ । सर्वोच्चको सुरक्षाका लागि ठूलो मात्रामा प्रहरी परिचालन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको सोमबार फैसला गरेको हो । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरेकी थिइन् ।
फैसला आउने भएपछि बिहानैदेखि ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । सर्वोच्चको परमादेशसँग सुरक्षा व्यवस्था थप कडा पारिएको काठमाडौं प्रहरी परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए ।