असर १०-पश्चिम नवलपरासीको परासीमा रहेको रामग्राम नगरपालिकाले आगामि आर्थिक वर्ष २०७८-०७९ का लागि ७३ करोड ५२ लाख ६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । बुधबार आयोजित नगरसभामा प्रस्तुत बजेट बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जनसङ्ख्या, कानुन, भुगोल र राजश्व क्षमतालाई बजेट विनियोजनको आधार बनाईएको जानकारी दिनुभयो ।
रामग्राम नगरपालिकाले पूर्वाधार निर्माण, कोरोना रोकथाम तथा नियन्त्रण, कृषि लगाएतका क्षेत्र लाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ । जसका लागि १८ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । त्यसमध्ये ७ करोड ७० लाख वडा स्तरीय बजेट रहेको नगरप्रमुख गुप्ताले जानकारी दिनुभयो ।
कृषि क्षेत्रमा एक घर एक करेसाबारीको अवधारणा अनुरुप करेसाबारीका लागि प्राविधिक सहयोग उपलब्ध गराउने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै एक वडा एक उत्पादन कार्यक्रम पनि अगाडी बढाईने नगरपालिकाले जनाएको छ । पर्यटनको क्षेत्रमा रामग्राम स्तुपा र पण्डितपुरको विकासमा जोड दिईएको छ ।
नगरपालिकाले प्रत्येक वडामा एक वडा एक पोखरी र एक वडा एक पार्क निर्माण गर्न बजेट विनियोजन गरेको जनाएको छ । यस्तै छोरी बचाउ छोरी पढाउ कार्यक्रम, बालमैत्री स्थानिय शासन पश्यात दिगोपनाको रणनिति कार्यान्वयन गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ ।
सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन केही सेवा अनलाईन मार्फत प्रवाह गर्ने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । यस्तै मेयर उज्यालो कार्यक्रम मार्फत चोक–चोकमा सडक बत्ति र निश्चित स्थानमा फ्रि–वाईफाई जोनको व्यवस्था गर्ने पनि बजेटमा उल्लेख गरिएको छ । जनता सुरक्षा कार्यक्रम अन्र्तगत महत्वपूर्ण स्थानमा सिसि क्यामेरा जडान गरिने छ ।
रामग्राम नगरपालिकाको पहिचान सहितको लोगो पनि सार्वजनिक गरिने भएको छ । महिला तथा बालबालिकका क्षेत्रमा पनि उलेख्य बजेट विनियोजन गरिएको र न्यायिक समितिलाई थप सक्रिय बनाईने नगर उपप्रमुख रम्भा कुँवरले बताउनुभयो । कर्मचारी सेवा प्रभावकारी बनाउन सबै कर्मचारीलाई टिओआर अनुसार जिम्मेवारी दिईने, सार्वजनिक सुनुवाई, समाजिक परिक्षण, सुझाव पेटिका, गुनासो सम्बोधनको व्यवस्था गरिने पनि नगर प्रमुख गुप्ताले बताउनुभयो ।
यस्तै शिक्षामा मयेर छात्रवृत्ति, जेष्ठ नागरिकसँग मेयर, उपमेयर पोषण झोला वितरण लगाएतका कार्यक्रमलाई पनि निरन्तरता दिईएको नगरपालिकाले जनाएको छ ।