बुटवल ।
कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि तत्कालको लागि थप ४० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।
केवलानीको कोरोना अस्थायी अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकताअनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिनुभयो ।
नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा वडा नं. ९ का वडाध्यक्ष नारायण न्यौपाने, वडा नं. ५ का चेतनारायण भण्डारी, वडा नं. ७ का दुर्गा पाण्डेय, वडा नं. ८ का कृष्ण पौडेल, प्रवक्ता सुरेन्द्र श्री, स्वास्थ्यकर्मी खगराज पोखरेल, गणेश भण्डारी तथा ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रतिनिधि रहनुभएको छ भने सदस्य सचिवमा कोरोना फोकल पर्सन केशव भट्टराई रहनुभएको छ ।