पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनमन्त्री प्रेमबहादुर आलेले वनदेवीको पूजा गरेर गणनाको उद्घाटन गरेका हुन् । वनदेवीको पूजा गरेलगत्तै सौराहामा एक समारोहबीच राष्ट्रिय रूपमा गैँडा गणनाको उद्घाटन भएको उद्घोष गरिएको थियो ।
फेसबुकमा पछ्याउनुहोस्
चितवन निकुञ्ज र पर्सा निकुञ्जमा एकैसाथ गैँडा गणना सुरू गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जेटएसएल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गणना सुरू गरेको हो ।
यस पटक गैँडाको संख्या, स्वास्थ्य अवस्था, बासस्थान र आहारलाई प्रमुखतामा राखेर गैँडा गणना हुने छ । अघिल्लो पटक सन् २०१५ मा गैँडा गणना गरिएको थियो । गैँडा गणना पाँच/पाँच वर्षमा हुँदै आएकोमा कोरोनामा महामारीका कारण सन् २०२० मा गणना हुन नसकेपछि एक वर्षपछि सोमबारबाट गणनाको औपचारिक सुरूवात गरिएको हो ।
चितवन र पर्सामा सुरू भएको गणनाकार्य शुक्लाफाँटा र बर्दिया निकुञ्जमा चैत १७ गतेबाट सुरू हुँदैछ । पर्सा निकुञ्जमा एक दिनमै गणना सकिने छ । चितवन निकुञ्जमा गणनाको लागि ४० वटा हात्ती र करिब २०० जना गणक तथा व्यवस्थापक परिचालन गरिएको छ ।
निकुञ्जको कुल भूभागलाई १९ वटा ब्लकमा विभाजन गरी गैँडा गणना गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष केन्द्रीय कार्यालयका वन्यजन्तुविज्ञ नरेश सुवेदीले जानकारी दिए ।
गैँडा गणनाको लागि खण्ड गणना विधि अपनाइन्छ । प्रत्येक ब्लकमा ४० वटा हात्तीलाई लस्करै राखेर गैँडा र उसको पाइला हेरेर गणना गरिने सुवेदीले जानकारी दिए । एक दिनमा एउटा खण्डमा गरिने भएकाले २२ दिनभित्र चितवनमा गणना सक्ने योजना रहेको छ ।
गणनाको लागि ६० जना तालिमप्राप्त कर्मचारी, १२५ जना माउते र २५ जना अन्य व्यवस्थापनको लागि मानवस्रोत परिचालन भएका छन् । निकुञ्जको गैँडा पाउने ठाउँलाई ब्लकमा विभाजन गरी गैँडा र गैँडाको पाइला हेरेर गणना हुने भएकाले एउटै गैँडा दोहोरिने सम्भावना निकै कम हुने सुवेदीले बताए ।
गणनामा मानवस्रोतसँगै डाटा सिटमा रेकर्ड गर्ने, जिपिएस, क्यामेरा, नक्सा, वाइनोकुलर, वाकीटकीलगायतका साधनहरु प्रयोग गरिने छ । सरकारले यस पटक आफ्नै लगानीमा गैँडा गणना गर्दैछ । चारवटै निकुञ्जमा गैँडा गणनाको लागि एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सन् २०१५ मा गरिएको गैँडा गणनामा नेपालमा ६४५ वटा गैँडा रहेका थिए । त्यो बेलाको गणनामा चितवन निकुञ्जमा ५०६ वटा गैँडा रहेका थिए । त्यसयता कालगति र चोरी सिकारीका कारण १६१ वटा गैँडा मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
जसमध्ये १५१ वटा प्राकृतिक कारण र ६ वटा गैँडा चोरीसिकारीका कारण मरेका छन् । चालु आर्थिक वर्षमा २६ वटा गैँडा मरेका छन् । २६ मध्ये ३ वटा गैँडा चोरीसिकारीले मारेको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।
पछिल्लो पटक भदौ १६ गते एउटा र १८ गते माउ बच्चालाई सिकारीले मारेका छन् । चालु आर्थिक वर्षमा गैँडाको चोरी सिकारीमा संलग्न २३ जनालाई निकुञ्जले पक्राउ गर्न सफल भएको छ । २३ जनामध्ये २० जना भदौ १६ र १८ मा गैँडा मार्ने गिरोह रहेको बरालले बताए ।
नेपालमा सन् १९९४ देखि गैँडा गणना सुरू भएको हो । सन् २०००, सन् २००८, सन् २०११ र सन् १०१५ मा गैँडा गणना गरिएको थियो । सन् २००० मा गरिएको गणनामा नेपालमा ६१२, सन् २००८ मा ४३५, सन् २०११ मा ५३४ र सन् २०१५ मा ६४५ वटा गैँडा रहेको पाइएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक दीपककुमार खरालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।