बुटबल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले फागुन २३ मा गरेको चर्चित फैसलालाई अनिष्टको संकेतको रुपमा टिप्पणी गरेका छन्।
शुक्रबार बुटबलमा राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले फैसलालाई अस्वभाविक भएको बताए। ‘अनौठो अनौठो परिघटना तपाईं हामीले देख्नुपरेको छ। जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिनेजस्तो बडो अनौठो र अस्वभाविक परिघटना हिजोआज तपाईं हामीले देख्नुपरेको छ,’ उनले भने ‘त्यस्तो हुन्छ? हुनै नसक्ने कुरा पनि हुन थालेको छ। केही अनिष्ट हुँदै छ कि देशमा भन्ने संकेत होइन र यो? जन्मेको बच्चालाई फेरि भित्र लगिदिने भनेको के हो यो? हेर्दै जाऔं, अझै केके अस्वभाविक परिघटना देख्नुपर्ने हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्र, दलित, महिला, आदिबासी, जनजाति, मधेसी मुस्लिमले प्राप्त गरेको अधिकार उल्ट्याउने निकै ठूलो षडयन्त्र भइरहेको उनले बताए।
‘यो परिवर्तन, यो शान्ति प्रक्रिया र रुपान्तरणको प्रक्रियामा भूमिका खेल्ने नेताहरुलाई बदनाम गर्ने, उनीहरुलाई निष्तेज पार्ने, घेराबन्दी गर्ने निकै ठूलो कसरत यतिबेला नेपालमा छ’, उनले भने, ‘१२ बुँदे समझदारी र शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जिवित हुनुहुन्न। म अहिले जिवितै छु। र अहिले सबैभन्दा धेरै घेराबन्दी यो परिवर्तन उट्याउनका निम्ति ममाथि भइरहेको मैले महसुस गर्छु। मैले धेरै गहिरोगरी महसुस गरिराखेको छु।’
देशभित्रका गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक मन नपराउने प्रतिगमनकारी र प्रतिक्रियावादीहरु तथा देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु सबै मिलेर परिवर्तनलाई उल्ट्याइछाड्ने कसरतमा लागेको उनले आरोप लगाए।
‘अस्ति संसद् विघटन गरियो। यो संसद् विघटन विघटन मात्रै गरिएको होइन, यो नेपाली जनताको सार्वभौम अधिकारलाई विघटन गर्ने षडयन्त्र हो। यो उत्पीडित वर्ग जातिले प्राप्त गरेको अधिकारलाई उल्ट्याउने षडयन्त्र हो। यो हाम्रो लागि जीवन मरणको प्रश्न हो। त्यसैले हामी जुनसुकै तहमा गएर पनि यो विघटनलाई असफल गर्नुपर्छ भनेर मैले भनें। देशभरी हामीले अभियान पनि चलायौं’, उनले भने, ‘सर्वोच्च अदालतले अन्ततः विघटन गर्ने प्रस्तावलाई बदर गर्यो। र पुनःस्थापना भयो।’