बुटवल, फागुन २४ । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो ।
श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताईन ।
श्रमिकको आर्थिक÷सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले ५१ जनालाई साईकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साईकल हस्तान्तरण गरेकी थिईन ।
दिवसकैं अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार ः समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत सम्पन्न गरेको छ ।
समुदाय स्तरका महिलाहरुले१७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम, देवकी न्यौपाने द्धितीय, गीतारानी बराल तृतीय र कविता ज्ञवाली तथा प्रतिमा पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा महिलाहरुले आफूले भोगेका समस्याहरु समेत अभिव्यक्त गरेका थिए । प्रतियोगितामा ऋषिराम भुसाल, माया घिमिरे र मिनाक्षी न्यौपानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने बताउँदै परिवारबाटैं समानता कायम हुनुपर्नेमा जोड दिईन ।
पहिलेको तुलनामा विभेद धेरै हटेको बताउँदै उहाँले राज्यले बनाएका नीति÷नियमको सहीँ कार्यान्वयनले विद्यमान विभेद पनि हटेर जाने विश्वास व्यक्त गरिन ।
तिलोत्तमा नगरपालिकाले समानतामुलक समाज निर्माण र यहाँका महिलाहरुमा उद्यमशीलताको विकास गराउन गरेका कामहरु प्रशंसनीय रहेको चर्चा गर्दै चौधरीले सबैको एकताबद्ध प्रयासले मात्र समाजमा समानता कायम हुन सक्ने बताईन ।
तिलोत्तमालाई लैङ्गिकमैत्री नगरपालिका बनाउन थालिएको जानकारी गराउँदै महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्छ भन्नेमा नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख बासुदेव घिमिरेले स्पष्ट पारे ।
नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले रुढीवादी चिन्तन र व्यवहार त्याग्न सकेमात्र समतामूलक समाज निर्माण हुने बताईन । समान कामको समान ज्याला सम्बन्धी निर्णय तिलोत्तमा नगरपालिकाले यसअघि नैं गरिसकेको बताउँदै उहाँले यस बारेमा नगरपालिकामा कुनै उजुरी नआएको बताईन ।
महिलाहरुमा सीप विकासको लागि नगरपालिकाले विभिन्न तालिमहरु आयोजना गर्दै आएको बताउँदै उहाँले तालिम लक्षित वर्गमा पुर्याउन पछिल्लो समय फरक अभ्यासबाट अघि बढिएको जानकारी दिईन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको स्वागत, ईन्दिरा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्था, आमा समूह, क्लव, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।