बुटवल, १७ फागुन-
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आगामी नेतृत्वको लागि सोमबार मतदान भएकाे छ। आइतबारबाट सुरु भएको संघकोे २० औं साधारणसभा तथा १० औं अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वको लागि मतदान भएको हो। विहान ११ बजे सुरु भएको मतदान तीन बजेसम्म चलेकाे निर्वाचन समितिले जनाएको छ।
मतदान र चुनावी प्रचारको लागि बुटवलको इट्टाभट्टी स्थित एशियन पार्टी प्यालेस परिसर र बाहिर सडकमा होटल व्यवसायीहरु जम्मा भएका छन्। संघको अध्यक्षको लागि रामप्रसाद गौतम र जिवनप्रसाद श्रेष्ठ प्यानल बनाएर मैदानमा छन्।
रामप्रसाद गौतमको समूहमा वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा मोहनलाल पाण्डे, द्धितीय उपाध्यक्षमा रोमाकान्त पाण्डे, महासचिवमा माधव खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंकप्रसाद पराजुली र सहकोषाध्यक्ष देवराज ढकाल रहेका छन् ।
जिवनप्रसाद श्रेष्ठकाे प्यानलमा वरिष्ठ उपाध्यक्षमा लाल बहादुर केसी, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्वितिय उपाध्यक्ष चिरञ्जीवी पोखरेल (बाबुराम), महासचिव प्रेम बन्जाडे, सचिव अर्जुन थापा, कोषाध्यक्ष चुत्र बहादुर पौडेल (टेकु), सहकोषाध्यक्ष खेमराज पोखरेल रहेका छन्। संघमा ८ सय ६३ जना व्यवसायी मतदाता छन्।