बुटवल,१२ फागुन ।
स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको चौथो अधिवेशन फागुन १४ गते हुने भएको छ । बुटवल सुख्खानगर स्थित मेरीगोल्ड होटलमा हुने भएको छ । अधिवेशनलाई सम्बोधन गर्न स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष केबि मसालको प्रमुख आतिथ्यतामा, संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, केन्द्रीय पुर्व महासचिव नवराज पहाडी लगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थितमा अधिवेशन गर्न लागिएको स्वतन्त्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष अनिल पहाडीले जानकारी दिनुभएको छ ।
स्वतन्त्र पत्रकार संघ रुपन्देही जिल्ला शाखाले नयाँ सदस्यता आह्वान सम्बन्धी सूचना जारी गरे संगै रुपन्देहीका विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुका लागि साधारण सदस्य बन्ने बाटो खुलेको थियो ।
संघको विधान अनुसार १२ कक्षा पास भै नियमित रुपमा मिडियामा काम गर्दै आएका सञ्चारकर्मीले आवश्यक कागजपत्रसहित फारम भर्न सक्ने संघका उपाध्यक्ष चक्रपाणि डुम्रेले बताए । सदस्यताको टुंगो पत्रकार संघको कार्य समिति बैठकले लगाउनेछ ।
जिल्ला शाखा सचिव मिलन पंगेनीले जारी गरेको सूचनामा पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति , पत्रकारिता वा अन्य कुनै विषयमा उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्तिले सदस्य बन्नका लागि आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।
‘तर, महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू, मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यक, उत्पीडित वा पिछडिएको क्षेत्रको हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ’, स्वतन्त्र पत्रकार संघ रुपन्देहीको सूचनामा भनिएको छ । संघको सदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्ने छ । नयाँ सदस्यताका लागि फारम संघ नेपालको वेभसाइट वा स्वतन्त्र पत्रकार संघ रुपन्देहीमा सम्पर्क गरी लिन सकिनेछ ।
नयाँ सदस्य चाहाने योग्य र ईच्छुक पत्रकारले तोकिएको ढाँचाको आवेदन साथ शैक्षिक योग्यताको प्रतिलिपि, नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि, अनुभव खुल्ने सिफारिस पत्र, नागरिकताको प्रमाणित प्रतिलिपि, गएको वर्षमा प्रकाशित, प्रशारित समाचार सामग्रीको प्रतिलिपि पेश गर्नुपर्ने जनाइएको छ ।