रुपन्देही माघ २८ ।
रुपन्देहीको सियारी गाउँपालिकामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम तथा सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७ मा संचालन गरिएको हो ।
पहिलो चरणको यस कार्यक्रममा प्रत्येक वडाका २०—२० पुरुष र महिला गरि ८० जनालाई सहभागी गराइएको छ । उनीहरुलाई स्थानीय स्तरमा स्वरोजगार तथा उद्यामशिल बनाउने उद्देश्यले कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो ।
गाउँपालिकामा रहेका अति विपन्न, गरिवीको रेखा भित्र परेका, सिमान्तकृत, दलित, एकल महिला, कोरोनाबाट प्रभावित तथा बैदेशिक रोजगारबाट फर्कीएका महिला पुरुषहरुलाई सो तालिम प्रदान गरिएको उहाँले बताउनु भयो ।
यस कार्यक्रमले आय—आर्जनमा टेवा पुग्ने गाउँपालिकाका उद्यम विकास सहजकर्ता यसोदा थापाले बताउनुभयो । उहाँले भन्नुभयो—“टोल विकास संस्थाले छनौट गरि पठाएका महिला पुरुष एक वडाबाट २० जना र पालिका भरी ८० जना लाई तालिम दिईएको छ, यस वर्ष उनीहरुलाई गाउँपालिकाले उद्यमी बनाउने छ ।” महिला पुरुषहरुलाई तालिममा सहभागी गराई स्थानीय कच्चा पदार्थ, स्रोत साधनको उपलब्धत तथा पहिचानका लागि सर्वेक्षण गरि स्थानीय स्रोत सधानको प्रयोगबाट तालिममा सहभागीहरुलाई स्वारोजगार बनाईने उहाँले बताउनु भयो ।