सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपरचाररत वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतकी ६१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोगपीडित ती महिलामा १५ माघमा कोरोना संक्रमणको पुष्टि भएको थियो । १८ माघमा उनलाई कोरोनो विशेष अस्पतालको आईसीयूमा राखेर उपचार गरिँदै आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
स्वास्थ्यमा सुधार नआएर आइतबार बिहान ४ः३० बजे उनको मृत्यु भएको जनाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाको नयाँ सबुज गण कपासेबाट शव व्यवस्थापन भइरहेको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।