कृषि उपज खेर जाने समस्या सामाधान गर्न सप्तरीको राजविराज नगरपालिका–१५, देउरी भरुवामा निर्माण सुरु भएको सहकारी शित भण्डार (कोल्ड स्टोर) निर्माणको काम रोकिएको छ ।
कुल ३१ करोड ५ लाख ३६ हजार ७७५ रुपैयाँको लगानीमा कोल्ड स्टोर निर्माणका लागि २०७५ मंसिर २४ मा टेन्डर भएकोमा २०७५ पुस १६ मा आशिष र ओम साई राम जेभी सातदोबाटो ललितपुरले निर्माणको जिम्मा पाएकव थियो ।
२५ करोड ४४ लाख ४३ हजार ९ सय ५९ रुपैयाँमा ठेक्का लिएर कम्पनीले निर्माण कार्य सुरु गरेको थियो । सम्झौताअनुसार दुई वर्ष (२०७७ जेष्ठ १८) मा कोल्ड स्टोर निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, तोकिएको समयभित्र निर्माणको काम पूरा हुन सकेन ।
भुक्तानी दिन आलटाल गरिएपछि समयमै निर्माणको काम पूरा हुन नसकेको निर्माण कम्पनीको भनाइ छ । ‘हामीले सम्झौता अनुसार निर्धारित समयमै काम सक्ने गरी लागेका थियौं । तर, समयमा भुक्तानी पाइएन,’ कम्पनीका साइड इन्जिनियर धनश्याम साहले भने ।
उनका अनुसार पहिलो किस्ता (२०७५-०७६) बापत ५२ लाख रुपैयाँ सहकारीले अझै भुक्तानी दिएको छैन । यसैगरी तेस्रो रनिङ्ग बिल (२०७६-०७७) मा पनि तीन वटै पक्षले ३ करोड ६८ लाख रुपैयाँ भुक्तानी बाँकी नै राखेको उनले बताए ।
‘भुक्तानीका लागि पटक-पटक जिल्ला सहकारी संघ र नगरपालिकालाई आग्रह गर्दा पनि अझै भुक्तानी उपलब्ध गराएको छैन,’ उनले भने, ‘३-४ महिना कोरोनापछि गरिएको बन्दाबन्दी (लकडाउन) ले पनि काम प्रभावित भएको हो ।’
तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि सरकारले थप एक वर्ष (२०७८ जेठ १८) को समय दिएको छ । तर, भुक्तानी उपलब्ध गराउनेतर्फ भने सरकारको ध्यान नगएको उनले बताए ।
निर्माण कार्य रोकिएपछि निर्माणस्थलमा थुपारिएका सामग्रीमा पनि खिया लागेर बिग्रिन लाग्दा समेत जिल्ला सहकारी संघ, नगरपालिका, प्रदेश र संघीय सरकारको ध्यान नपुगेको उनले गुनासो गरे ।