८०औँ सहिद दिवसका सन्दर्भमा वीर सहिदहरुप्रति हार्दिक नमन‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’ कवि भूपि शेरचनका यी पंक्तिले मुलुकको निर्माणमा सहिदको योगदानलाई प्रष्ट्याएका छन् । मुलुकको स्वतन्त्रता, स्वाधीनता, लोकतन्त्र, जनअधिकार स्थापित गर्दै समृद्ध मुलुक निर्माणका खातिर हरेक ऐतिहासिक कालखण्डमा नेपाली वीर सपुतहरुले आफ्नो ज्यानको उत्सर्ग गरेका छन् । आफ्नो ज्यानलाई सुलीमा चढाएर स्वतन्त्रता, समानता र सार्वभौमिकताका निम्ति अविचलित यात्रामा संघर्ष गर्दागर्दै आफ्नो देह त्यागेका तिनै वीरहरुको सम्मान र सम्झनाको पवित्र दिन हो सहिद दिवस । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि माघ १६ गते सहिद दिवस मनाउँदै आइएको छ ।
नेपालका प्रथम सहिद लखन थापासहित गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द ठकुरीलाई प्रजातन्त्रको पक्षमा वकालत गरी जनतामा भ्रम छरेको अभियोगमा राणाकालीन निरङ्कुश शासकद्वारा टेकुको शुक्र वृक्ष, सिफलको रुख, खरीको रुख, शोभा भगवतीलगायत स्थानमा निर्ममतापूर्वक हत्या गरिएको थियो ।
सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदानी भएर लोकहितका निम्ति आफ्नो जीवन समर्पण गरेका इतिहासको पानामा र प्रत्येक देशभक्त नागरिककको मन मनमा बस्न सफल अमर व्यक्तिहरुलाई बुझिन्छ । सहिद शब्द आफैंमा गौरवपूर्ण इतिहास बोकेको देशको स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि आत्मबलिदान गर्ने वीरत्व गुणयुक्त साथै सहिद आत्मोत्सर्ग, निष्ठा, आदर्श, चेतना, वीरता, साहस र समर्पणजस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो ।
नेपालको प्रजातान्त्रिक इतिहासमा राणा शासनका विरुद्धमा प्रजातन्त्र स्थापनाका निम्ति सहिदहरुले बलिदानी दिए । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि पुनः निर्दलीय पञ्चायती शासन व्यवस्थाकाविरुद्ध प्रजातन्त्रको पुनःस्थापनार्थ२०४६ सालसम्म धेरै वीर योद्धाहरुले ज्यान गुमाए । राजाको निरङ्कुशताका विरुद्ध लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको २०६२÷०६३ को दोस्रो जनआन्दोलनतथा जनयुद्धको समाप्तिसहित २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी गर्दासम्म आइपुग्दा नेपाल आमाका धेरै सन्तानहरु सहिद भएका हुन् ।
सहिद दिवस र सप्ताहमा आयोजना हुने विविध कार्यक्रममा हामी सहिद र बेपत्ता योद्धाहरुको सपना पूरा गराउने दिशामा अग्रसर हुनुपर्छ । सहिदहरुले सोचेका थिए– क्रान्ति पूरा होस् धोका नहोस्, जनताको सत्ता प्राप्ति होस्, नेपाली जनताले अधिकार पाऊन्, देश स्वाधीन बनोस्, मानवअधिकार पाइयोस्, कानुनी राज होस्, कुनै पनि आधारमा विभेद नहोस्, सुशासन होस्, भ्रष्टाचारको अन्त्य होस्, स्वतन्त्रता प्राप्त होस्, गरिबी हटोस्, देशको समृद्धि होस् । यी अनेकौँ सपनाहरु देखेर देश र जनतालाई प्राणभन्दा प्यारो ठान्दै उनीहरु सहिद भएर गए ।
सहिदहरुको त्यही त्याग र संघर्षको प्रतिफलस्वरुप आज हामीले प्रजातान्त्रिक अधिकारहरु पाएका छौँ । सहिद दिवसका सन्दर्भमा अब हामी नेपाली अनि हाम्रो राज्य सहिदका ती सपना पूरा गर्ने र लक्ष्य प्राप्ति गर्ने मार्गमा छौं कि छैनौं भनेर आत्ममूल्यांकन गर्ने वेला आएको छ । भाषणमा ‘हामी सहिदका सपना पूरा गर्छौं’ भनिरहदा वास्तवमा सहिदका सपना के थिए त ? ती सपनाहरु अहिले कहाँ अल्मलिएका छन् ? तिनीहरुलाइ पूरा गर्ने दायित्वबोध गर्न हामी कहाँनिर चुक्यौं ? ती सपनालाई पूरा गर्न कसरी सकिन्छ ? सहिदका सपना पूरा गर्ने बाटोमा थप सहिद भएकाहरुको योगदानको कहाँ र कति कदर भयो ? सामाजिक बनोटमा असमानता र विभेद कति हट्यो ? हामी कति स्वाधीन र आत्मनिर्भर भयौँ ? लोकतन्त्रलाई कति बजबुत बनाउन सक्यौँ ? सुशासन कायम गर्न के कस्ता काम ग¥यौँ ?यी तमाम प्रश्नहरुको उत्तर खोज्नुपर्ने बेला आएको छ । जनमत अनुसार राज्य सञ्चालनको बागडोर सम्हालेकाहरुले यसको उचित जवाफ दिनुपर्दछ । सहिदका सपना साकार पार्ने बाटोमा कहाँनिर चुकियो त्यसको आत्मसमीक्षा गर्नै पर्दछ । समृद्धिको बाटोमा अबको नेतृत्व लाग्नैपर्छ ।
गणतन्त्र स्थापनाका निम्ति आफ्नो जीवन उत्सर्ग गर्ने हाम्रा सहिदका मार्गहरु अनुशरण गर्दै हजारौं वीरङ्गनाहरुले ज्यानको आहुती त्यसै दिएका छैनन्, आजसम्म देशमा भएका राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणको श्रेय पूर्णतः सहिदहरुलाई नै जान्छ । सहिदको सपना र समर्पणलाई हामीले कति साकार पा¥यौँ र कति अधुरै छन् भन्ने हामी सबैले मनन गर्न जरुरी छ । सहिदको सम्मान औपचारिक कार्यक्रम, माल्यार्पण र मौनधारणले मात्र पुग्दैन र हुँदैन ।सहिदको सम्मान तब हुन्छ जब उनीहरुले देखेको सपना पूरा हुन्छ ।
देशमा सहिदका सपना अनुसार परिवर्तन हुन सकेको छैन ।हिजो दशक अगाडिका विभेद, शोषण, दमन रअत्याचारका विभिन्न रुपहरु जारी छन् । राजनीतिक दलको सोच र कार्यशैली बदलिएको छैन । अहिले पनि देशमा बेथिति छ । जनताको मत पाएर ५ वर्षका लागि सत्तामा पुगेको सरकार विघटनको अवस्थामा पुगेको छ ।जनप्रतिनिधिहरुको संसद समयअघि नै विघटन भएको छ । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल तथा आम नागरिकहरु अहिले पनि संघर्षमा लागिरहेको बताइरहेका छन् । अदालतमा बहस चलेको छ । सरकार अनि सरकारइतरका सबै आआफ्नै संघर्षमा छन् । सबैले सडक तताइरहेका छन्, जनतालाई आआफ्ना कित्तामा आउन उछालिरहेका छन् । सबैले आआफ्नै तरिकाले डम्फु बजाइरहेका छन् । यस अवस्थामा सहिदका सपनामाथि कुठाराघात भएको आभाष भएको छ । देश र जनाताका निम्ति आफ्नो ज्यानको बलि चढाउने ती सहिदहरुलाई सम्मान गर्दै राष्ट्रनिर्माणमा एकढिक्का भएर लाग्नुपर्ने समयमा नेपाली राजनीति केवल सत्ताकेन्द्रित भएर कठोरतापूर्वक अगाडि बढेको तीतो अनुभव आम नेपालीले गर्नुपरेको छ । अब पनि हामी वीर सहिदका सपनालाई साकार पार्ने आफ्नो कर्तव्य बिर्सेर आफ्नै स्वार्थमा लाग्यौँ भने भूपिले भनेझैँ इतिहासले हामीलाई धिक्कार्ने छ, धर्ती आकाश साराले धिक्कार्ने छन् ।
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदका प्यारा ती लासले धिक्कार्ला ।
मुलुकमा समूल परिवर्तन ल्याउनका लागि भावी पुस्ता र देशको समग्र समृद्धिका निम्ति आफ्नो जीवनको आहुतीदिने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक नमन । (संकर गौतम -शुद्धोधन–२, भुजौली, रुपन्देही)