प्रत्येक वर्ष पौष शुक्ल पुर्णिमादेखि सुरू हुने स्वस्थानी पर्व माघ शुक्ल पुर्णिमा सम्म एक महिना भर मनाइन्छ । स्वस्थानी शब्द ‘स्व’ र ‘स्थान’ गरी दुई शब्द मिलेर अन्त्यमा ‘ई’ प्रत्यय लागेर बनेको छ । यसको अर्थ स्वस्थानमा रहने देवी अथवा आफ्नै स्थानमा रहने भगवती भन्ने बुझिन्छ । स्वस्थानीको शाब्दिक अर्थ आफू जुन स्थानमा रहेको छ त्यही स्थान हो । त्यही स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।आँफू द्वारा आफ्नै स्थानमा रहेर आफ्नै स्थानकी देवीको पूजा गर्नु पर्छ भन्ने मान्यता अनुरूप स्वस्थानी भगवती को पूजा,व्रत र उपासना गरिन्छ ।
स्वस्थानी परमेश्वरीको व्रत बस्नेहरूले पौष शुक्ल पुर्णिामाको दिनमा हातगोडाका नङ काटी ,स्नान गरि,नित्यकर्म सकि, शुद्ध वस्त्र पहिरिएर,शुद्ध चित्त द्वारा नित्य मध्याह्न कालमा स्वस्थानी देवी सहित महादेवको स्थापना गरि बिधिवत पूजा गरि व्रत बस्ने गर्दछन् र प्रत्यक दिन साँझ संक्षिप्त पूजा सहित स्वस्थानी व्रतकथा पाठ एवम् श्रवण गर्नुपर्छ ।
स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन् । प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ। यो कथा एक महिनामा सक्नुपर्छ । स्वस्थानी देवीको लक्षण सुवर्ण वर्णकी, त्रीनेत्रधारी,प्रसन्न मुद्रा,कमलासन,सिंहासनमा बसेकी,चतुर्भुजा, एक हातमा निलकमल,एक हातमा खड्ग , एकहातमा ढाल र एउटा हात वदरमुद्रा रहेकी,वृषध्वज लिएकी यस्तो देवीको स्वरूप को चिन्तन गर्दै ध्यान गरिन्छ । स्वस्थानीको प्रत्येक अध्यायको कथा सकिएपछि इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानी व्रतकथायां ..भन्दै स्वस्थानीको आधारग्रन्थ स्कन्दपुराण भएको बताइएको छ।
यसरी एक महिनासम्म नित्य महादेव सहित स्वस्थानी देवीको पूजा ,व्रत ,पाठ एवं श्रवण गरिसकेपछि माघ शुक्ल पुर्णिमाको दिनमा १०८ यज्ञाेपवीत,१०८ सुपारी ,१०८ पान,१०८ पुष्प,१०८ रोटी,१०८अक्षता, १०८ दक्षिणा ,विभिन्न थरीका फलफूल ,धुप,दीप,नैवेध,कस्तुरी ,श्रीखण्ड,रक्तचन्दन ,सिंदुर , बस्त्रालंकर चढाई विशेष पूजा गर्नु पर्छ र उनै देवीसङ्ग ती सबै प्रसादको रुपमा मागेर १०८ मध्ये आठ-आठ आफ्ना पतिलाई खान दिने पति नभए छोरा, छोरा नभए मीत छोरा, मीत छोरा पनि नभए जुन कामनाले व्रत बसेको हो सो कामना सिद्ध होस भनेर गङ्गामा लगेर बगाईदिनु पर्छ । सय रोटी आफैले ग्रहण गरी जाग्राम बस्नु पर्छ र उनै देवीको महिमा सुन्ने र सुनाउने गर्नु पर्छ । यसो गरे मनोकामना सिद्ध हुन्छ भन्ने मान्यता रहेको छ।
स्वस्थानी व्रत कथामा भनेबमोजिमको बिधिपूर्वक व्रत बसि पूजा गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ । रोघब्याधी निको हुन्छ। कसैलाई पति वरण गरेको भए पति प्राप्त हुन्छ। जस्तै कथा अनुसार पार्बतीले महादेवलाई पति पाऊँ भनी स्वस्थानी परमेश्वरीको व्रत बसी वरण गरेकीले महादेव पती पाइन् । बिछोड भएका नागनागिनीको मिलन भएको थियो । गोमा ब्राह्मणीले हराएको आफ्नो छोरो नवराजलाई लावण्य देशका राजाको रूपमा पाइन् । चन्द्रावती आफ्ना सम्पूर्ण रोग र पाप बाट मुक्त भएर लावण्य देशकी रानी भएकी प्रसङ्ग पाउन सकिन्छ । स्वस्थानी भगवतीको व्रत, पूजा र कथानेपालीहरूको घर–घरमा गरिन्छ । नेपालीहरूले एउटा परमपवित्र सांस्कृतिक, धार्मिक, पारिवारिक,पारस्परिक पर्वको रूपमा मनाइने स्वस्थानी व्रत हो।
नेपालमा स्वस्थानी भगवतीको पूजाको ठूलो महत्व छ । स्वस्थानी कथामा नेपालमा रहेका विभिन्न शक्तिपीठको बर्णन पनि गरिएको छ तर यदाकदा स्वस्थानी व्रतकथाका केही सन्दर्भ उठाएर आलोचना पनि हुँदै आएको छ । तर, तथ्य के हो भने स्वस्थानी व्रतकथा वैदिक पुराणका कथाहरूको देश–काल– परिस्थिति अनुसारको जोरजाम मात्र हो । यद्यपि, मानिसलाई आध्यात्मिकतातर्फ लैजान स्वस्थानी व्रत र कथाको महत्त्व नभएको भने होइन । कथामा आउने विभिन्न सन्दर्भला चर्मचक्षुले मात्र नभई आध्यात्मिक दृष्टिले हेर्ने हो भने थुप्रै सन्देश भेटिन्छन् जसले सत्कर्म गरेर स्वस्थानमा अडि रहन प्रेरित गरिरहेको हुन्छ ।