ओली समूहले सप्तरीको राजविराजमा आयोजना गरेको जनजागरणसभालाई सम्बोधन गर्न राजविराज आएका मन्त्रीहरूलाई कालो झण्डा देखाइएको छ । मंगलबार जनजागरणसभाका लागि राजविराज प्रवेश गर्दै गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरूलाई अनेरास्ववियु सप्तरीका विद्यार्थी नेताहरूले अध्यारी पेट्रोल पम्पअघि कालो झण्डा देखाइएका हुन् ।
सभालाई सम्बोधन गर्न उपप्रधानमन्त्री पोखरेल, सहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, पूर्वमन्त्री रघुवीर महासेठ, प्रदेश-२ का कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ, प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सचिव सुमन प्याकुरेलगायत राजविराज आएका हुन् ।
राजविराजस्थित राजरंगशालामा आयोजना गरिएको कार्यक्रमस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठूलो संख्यामा परिचालन गरिएको छ । कार्यक्रममा कुनै अप्रिय घटना नहोस् यसका लागि सप्तरी प्रशासनले कार्यक्रम स्थल, आसपास क्षेत्र तथा राजविराज नगरपालिकाको विभिन्न चौक तथा मुख्य बाटोमा पनि प्रहरी परिचालन गरेको छ ।