वुटवल,
नेकपा दाहाल–नेपाल समूहका नेता वर्षमान पुन ‘अनन्त’ले केपि शर्मा ओली कानुनी रुपमा प्रधानमन्त्री नभएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभा विघटन भएको मान्ने हो भने ओली जी प्रतिनिधि सभा सदस्य नै नभएपछि उहाँ कसरी प्रधानमन्त्री हुनुुभयो’ भनेर प्रश्न गर्नुभयो ।
संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने उहाँको जिकिर छ । संसद आदिवासि जनजाती महासंघ नेपाल, जिल्ला समन्वय समिति रुपन्देहीले आईतबार बुटवलमा गरेको समसामयिक राजनितिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले यस्तो कुरा बताउनुभएको हो ।
विघटन गरेर चुनावको घोषणा गर्दा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने र राष्ट्रपतिबाट चुनाव सम्पन्न गर्नका लागि कामचलाउ सरकारको रुपमा काम गर्न आग्रह गर्नुपर्नेमा त्यसो नगरिएकोले पनि वर्तमान सरकार अवैधानिक रहेको उहाँको तर्क छ । ओलीले प्रतिनिधिसभा विघटन गरेर आफ्नै कुर्ची र नेपाली जनतामाथि घात गरेको उहाँको भनाई छ ।
प्रतिनिधि सभा विघटन गरेर ओली नेतृत्वले संघियता, धर्मनिरपेक्षता, समावेशितालाई खोस्न खोजेको पुनको आरोप छ संसद विघटन राष्ट्रिय÷अन्र्तराष्ट्रिय शक्तिसँग मिलेर गरिएको समेत उहाँको भनाई छ । बैशाखमा निर्वाचन पनि नहुने भन्दै नेता पुनले संसद विघटन गर्न लगाउने शक्तिले बैशाखपछि प्रधानमन्त्री ओलीलाई कामचलाउ प्रधानमन्त्रीको हैसियतबाट समेत निकाल्ने ठोकुुवा गर्नुभयो ।
नेकपा दाहाल निकट मानिने नेता पुनले प्रधानमन्त्रीले आलोचना र टिप्पण्ी सुन्न समेत नचाहेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले पञ्चायतकालमा आफ्ना विरुद्ध मुद्धा लडेका एक जना वकिललाई बाजे वकिल भनेर अपहेलना गर्नुले प्रधानमन्त्रीको हैसियत पुष्टि भएको बताउनुभयो । पुनले प्रधानमन्त्रीलाई सम्झाउन प्रधानमन्त्री ओली निकट रहेका महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह समेत गर्नुुभयो ।
पत्रकार,वकिल र नागरिक समाजका अगुवाहरुप्रति तल्लो स्तरमा झरेर गालीगलौजमा उत्रिएका प्रधानमन्त्री ओलीलाई त्यसो नगर्न सम्झाउनुपर्नेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले एउटा जिल्लामा ४२ जनाको मात्रै भेला गरेर प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्ने प्रयास गरेको टिप्पणी गर्नुभयो । गुटभेला गर्नका लागि मुख्यमन्त्री पोखरेलले एक पटक सिलन्यास भएर निर्माणाधीन अवस्थामा रहेको पुलको पुन सिलन्यास गर्ने कार्यक्रम राखेकोमा आश्चर्य व्यक्त गर्नुभयो ।