पाल्पा।।पाल्पा- तिनाउ गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । मंगलबार तीन वटा कार्यविधि पारित सहित गाउँसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा भएको गाउँसभाबाट लैंगिक निवारण कोष कार्यविधि २०७७, जलश्रोत उपयोग तथा मुहान दर्ता सम्बन्धी कार्यविधि, २०७७ र संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सभामा चालु आर्थिक वर्षको कार्यप्रगति, समसामयिक विषयमा छलफलसहित ३५ लाख १५ हजार पुरक बजेट थप गरिएको श्रेष्ठले बताउनुभयो ।गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले अनुमोदित कार्यविधिबाट पालिकाको कार्यसम्पादनमा सहज हुने धारणा राख्नुभयो । अनिवार्य दायित्व अन्तर्गत पुरक बजेट थप गरिएको उहाँको भनाई छ । अध्यक्ष घर्तीमगरले पालिकामा आवश्यक कार्यविधि सभाबाट अनुमोदन गरिएको बताउँदै जनप्रतिनिधिबाट पारित कार्यविधि कार्यान्वयनमा कर्मचारीको सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार तिनाउ गाउँपालिकामा चालु आर्थिक वर्षका २५० योजनामा १२५ योजना सम्झौता भइसकेका छन् । जसमध्ये ३५ योजना सम्पन्न भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार पालिकामा चालु आर्थिक वर्षमा ३३ प्रतिशत चालु खर्च र १८ प्रतिशत पूँजीगत खर्च भएको छ । गाउँपालिकामा यसै वर्षभित्र सम्पन्न गर्ने गरी प्रशासकीय भवन निर्माण कार्य जारी रहेको छ । सूचना प्रविधि अधिकृत तुलबहादुर घर्तीमगरका अनुसार वडा नं. ५ र ४ का वडा भवनसमेत निर्माण भएका छन् ।तिनाउँ गाउँपालिका साविकका कचल, दोभान, कोलडाडाँ र मस्याम गाविस मिलाएर ६ वडामा विभाजन गरि बनेको गाउँपालिका हो । हरियाली बनजंगल, जन्तीलुंग, रिङसिङलेक, पाटन, ठुली उदाङ, हात्तिलेक, सत्यवतीताल, सुकेताल, जितगढी, नुवाकोट सिद्धबाबा मन्दिरजस्ता ठाउँ तिनाउँका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । पाल्पाको तिनाउ समग्र जिल्लाको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ ।