चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनकाे कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।
पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरे । आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् ।
उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ । उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुने छ । ‘उहाँले पाँच महिनाअघि नै राजीनामा दिनुभएको थियो । स्वीकृतचाहिँ भएको छैन’, सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यले भने, ‘नयाँ योजनामा केन्द्रित हुनुपर्ने समय आएकाले उहाँ (रवी लामिछाने) ले टिभी छाड्नुभएको छ ।’
ती सदस्यका अनुसार सिधा कुरा जनतासँग अब दुई/तीन एपिसोड प्रसारण हुने छ । लामिछाने नयाँ टिभी खाेल्ने याेजनामा रहेकाे ती सदस्यले बताए ।
आगामी योजना
लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताए । ‘म मिडियाबाटै अलग्गिन खोजेको होइन । नयाँ योजनामा काम गरिरहेकाे छु’, लामिछानेले भने, ‘अझ फराकिलो, परिमार्जित, प्रभावकारी कार्यक्रम लिएर छिट्टै आउने छु ।’
कुन टिभी, कुन कार्यक्रम भन्नेबारे चाँडै जानकारी गराउने उनले बताए ।
नागरिक सरोकारका विषयमा खरो प्रस्तुतिका कारण जनमानसमा उनी निकै रुचाइएका छन् । सिधा कुरा जनतासँग चलाउने क्रममा उनले तालीसँगै गाली र अवरोध पनि झेलेका थिए । खासगरी नेपाल छोडेर अमेरिका भासिन खोजेको आरोप र पहिलो श्रीमतीलाई डिभोर्स दिएको विषयमा उनले खुबै आलोचना खेप्नुपरेको थियो । यद्यपि, फरक प्रस्तुति र जनतासँग प्रत्यक्ष जाेडिएका समस्यामाथि रिपाेर्टिङका कारण उनी आमनागरिकले सर्वाधिक रुचाएका प्रस्तोता हुन् ।
टेलिभिजनमा मात्रै नभएर युट्युबमा पनि उनको कार्यक्रम नेपालको हकमा सर्वाधिक हेरिन्छ ।
लामिछाने भदौ २०७६ मा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउसमेत परेका थिए । उनी पक्राउ पर्दा उनका हजारौँ समर्थकले सडकमा प्रदर्शन गरेका थिए । तर, आत्महत्या दुरुत्साहन गरेको आरोप पुष्टि नभएपछि माघ २०७६ मा अदालतले उनलाई सफाइ दिएको थियो ।
लामिछाने टेलिभिजनका चर्चित मात्र नभई कीर्तिमानी प्रस्तोता पनि हुन् । उनले अप्रिल २०१३ मा न्युज २४ टेलिभिजनमार्फत निरन्तर ६० घण्टाभन्दा बढी समय अन्तर्वार्ता गरी विश्व कीर्तिमान् बनाएका थिए ।