काठमाडौंको टोखास्थित ग्राण्डी भिल्ला हाउजिङमा मृत अवस्थामा भेटिएका दम्पत्तिको पोस्टमार्टम रिपोर्टको प्रारम्भिक विवरणमा पतिको हत्यापछि आत्महत्या गरेको पाइएको छ ।
मृतक ३३ वर्षीया सुदिक्षा गिरीले पतिको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धानमा समेत देखिएको छ । सुदिक्षा र पति उमेश केसीको पोष्टमार्टम रिपोर्टमा पनि पतिको हत्यापछि आत्महत्या गरेको देखिएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टपछि चिकित्सकले प्रहरीलाई प्रारम्भिक विवरण दिएका छन् ।
जसअनुसार उमेशको मृत्यु भएको १० देखि १२ घण्टापछि सुदिक्षाले आत्महत्या गरेको देखिएको उल्लेख छ ।
शुक्रवार राति पौने ९ मा उनीहरु मृत अवस्थामा भेटिएका थिए । उमेश भिल्लाको एकतला माथि बेडमा मृत अवस्थामा भेटिएका थिए भने सो तलामा जाने भ¥याङमा सुदिक्षा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
चिकित्सकले उमेशको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ का कारण भएको उल्लेख गरेका छन् । निधारमाथि गहिरो चोट लागेको र सो चोटका कारण ‘ओभर ब्लिडिङ’ भएर उनको मृत्यु भएको चिकित्सकको निष्कर्ष छ ।
सुदिक्षाको मृत्युको कारण भने ‘ह्याङगिङ’ भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ । उमेशको हत्यापछि सुदिक्षाले आत्महत्या गरेको अनुसन्धानबाट देखिएको काठमाडौं प्रहरी प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।