बुटवल । रुपन्देहीमा एक भारतीय गाडीमा पेस्तोल फेला परेको छ । राजस्व अनुसन्धानसम्बन्धि मुद्दामा राजस्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र रहेको जीजे ०६ एजेड ६३५१ नम्बर प्लेटको कन्टनेरमा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बिहीबार उक्त ट्रकको एअर फिल्टरभित्र पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए । ट्रकको एअर फिल्टरभित्र लुकाईछिपाई राखेको अवस्थामा बेवली.३२ लेखेको पेस्तोल फेला परेको डीएसपी थापाले जानकारी दिए ।