काठमाडौ । डायनामिक स्काउट क्य्रुको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजीव खत्रीको ‘स्कार्फ’ नियात्रा संग्रह विमोचन गरिएको छ ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद र युवा उत्थानका लागि आफूले सक्दो प्रयास गर्ने बताए । राजनीतिक संकटका बेला आफूले जिम्मेवारी पाएको बताउँदै खेलकूद र युवाका लागि विशेष कार्यक्रम ल्याउन आफू सक्रिय बन्ने उनले उल्लेख गरे । उनले स्काउटमा देखिएका समस्या समाधान गर्दै नेपाल स्काउटको विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले स्काउटले मानवलाई नै अनुशासनमा राख्ने उल्लेख गरे । खत्रीको पुस्तकमा स्काउटसंगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जीवन्त पढ्न सकिने बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार पोखे ।
कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले स्काउट र यात्रा अनि विभिन्न संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण व्यक्त गरे ।
स्काउट लिडर रवीन्द्र प्रसाद पाण्डेले स्काउटिङ भित्रको तथ्यपरक चिरफार गरेको भन्दै स्काउटिङको क्षेत्रमा यो कृति कोषेढुङ्गा सावित हुने विश्वस व्यक्त गरे ।
अर्का स्काउट लिडर अनन्त प्रसाद भेटुवालले स्काउटिङ इतिहास कै संकटको मोडमा पुगेको बताए । गलत नेतृत्वका कारण स्काउटमा राजनीति हावी भएको भन्दै चिन्ता व्यक्त गरे ।
तीनकुनेस्थित भिएस निकेतन स्कुलमा आयोजित कार्यक्रममा उपस्थितिहरुले स्काउटिङ प्राविधिक कुरा भएकाले यस विषयमा बुझ्न यो पुस्तक महत्त्वपूर्ण हुने बताएका थिए ।
१४ वटा निबन्ध संग्रहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो । यस कृतिबाहेक लेखकका प्रशस्त फुटकर रचना प्रकाशित भइरहेका छन् ।