समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले आइतबार सिट्ठी बजाएर विरोध प्रदर्शन गरेका छन् ।
आंशिक प्राध्यापकले आज कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयअगाडि आफ्ना माग पूरा गर्न दबाब दिन सिट्ठी बजाएर प्रदर्शन गरेका हुन् । आंशिक प्राध्यापकले एक शैक्षिकसत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकलाई पूर्णकालीन करार गर्नुपर्ने माग गरेका छन् ।
त्रि.वि. आंशिक प्राध्यापक संघ केन्द्रीय समितिका सचिव इश्वरचन्द्र पौडेलले विगत १५ वर्ष यता आन्दोलन गर्दै आएको र यसपटक निर्णायक आन्दोलन गरिएको बताए ।
आंशिक प्राध्यापक ‘हामी बधुवा मजदूर होइनौँ, समान कामको समान ज्याला चाहन्छौँ’, ‘अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिकाको सट्टा आंशिक प्राध्यापक व्यवस्थापन निर्देशिका चाहन्छौँ’, ‘हामी सम्पूर्ण आंशिक प्राध्यापक एक हुन चाहन्छौँ’, ‘त्रिभुवन विश्वविद्यालय हामी सबैको गौरव र पहिचानको धरोहर हो त्यसैले अस्तित्व जोगाउन चाहन्छौँ’, ‘त्रिभुवन विश्वविद्यालयमा समान कामको समान ज्याला ज्ञारेन्टी गर’ लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् ।