गुल्मी । गुल्मी जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मा आएकी छन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा आएकी हुन् ।
गृह मन्त्रालयले भर्खरै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा अन्तर्गत शर्मालाई गुल्मीको जिम्मेवारी दिएर पठाएको हो । उनले बुधबारदेखि जिम्मेवारी समालेकी छन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा आएकी हुन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी रहेको बताइएको छ । उनलाई जिल्लामा सरकारी कार्यालय र स्थानीयवासिन्दाको तर्फबाट स्वागत गरिएको छ । स्वागतसँगै पत्रकार भेटघाट गरेर परिचय कार्यक्रमको समेत आयोजना गरेकी अधिकारी शर्माले आफूले कानुनले दिएको बाटोमा अडिक रहेर कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । प्रजिअ शर्माले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी कार्यालयबाट प्रदान हुने सबै खालका सेवाहरु दिदैँ २४ घण्टाभित्र उद्दार र ७२ घण्टाभित्र राहातको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएकी छन् । जिल्लामा हुने सार्वजनिक स्रोत तथा सम्पत्तिको संरक्षण गर्दै सबैसँग मिलेर कानुनको शासनमा रहि विवेकशिलता, संवेदनशिलता, पार्दशिता, जनमुखी प्रशासन, सुशासनको सिद्धान्तबाट आफु अगाडि बढ्ने लक्ष्य लिएको उनले बताइन् ।
पत्रकारहरुले जिल्लाको वर्तमान अवस्थाको जानकारी दिदैँ नागरिकलाई छिटो र छरितो माध्यमबाट सूचना प्रवाह गर्नुपर्ने भएकाले समयमै सूचना दिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । जिल्लाले पहिलो पटक महिला सिडियो पाएको हुदाँ गुल्मीमा स्वागत गर्दै शान्ति सुरुक्षा कायम राख्दै नयाँ कार्यको अनुभुति गर्ने आशामा गुल्मेली जनता रहेकोे नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए । प्रमुख जिल्ला अधिकारी शर्मालाई राम्रो कामको अभियान सुरु गर्दा जस्तोसुकै परिस्थितिमा पनि पत्रकारले पूर्ण सहयोग गर्ने भुसालले बताए । पछिल्लो समय अत्याधिक मदिरा सेवनका कारण दैनिक जिल्लामा हत्या, हिंसा, बलात्कार र दुर्घटनाका घटनाहरु दैनिक बढेकाले यसमा चासोका साथ लाग्न नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जर्नादन घिमिरेले आग्रह गरे । पहिलोपटक जिल्लाले महिला प्रमुख जिल्ला अधिकारी पाउँदा गुल्मेलीहरुले नमुना तथा सकारात्मक परिवर्तनको आशा गरेको घिमिरेले बताए ।