विराटनगर,५ पुस ।
चिसोबाट बच्न बालेको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको मृत्यु भएको हो । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी र सात वर्षीय छोरा किसनकुमार घाइते भएको भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनु भयो ।
घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा राजेशकुमार आफन्तको विवाहमा गएकाले घरमा थिएनन् ।
राति बालेको घुरको आगो ननिभाई सुतेका कारण घरमा सल्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।