भैरहवा , १ पुस :-रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालन हुने भएको छ । नगरपालिकाको ३५ लाखको लागतमा ६ कोठे भवन निर्माण गरिएको हो ।
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नवनिर्मित २ तले भवनको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको मंगलबार उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र सार्वजनिक जग्गाको अभाव रहेको बताए । उनले नगरको विकासको लागि नगरवासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
‘सबै सरकारले गर्छ भनेर हात बांधेर मात्रै हुँदैन, अधिकारको कुरा मात्र होइन, कर्तव्य पनि गर्नुपर्छ, उनले भने ।’ सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले वडा कार्यालय वडावासीको सम्पत्ति भएको बताइन् । उनले स्व. दिल बहादुर बस्नेतको योगदानबारे चर्चा गरिन् ।
यसैगरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले आफुले संकल्प लिएका कुराहरु विस्तारै पुरा हुँदै गएको बताए । उनले शिक्षा क्षेत्रको विकासमा पनि आफुले विशेष जोड दिएको बताए । उनले दुर्घटना न्यूनीकरणका लागि वडाका मुख्य सडकमा सीसीटिभी क्यामेरा जडान हुनुपर्नेमा जोड दिए ।
त्यस्तै सिद्धार्थनगर वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, ९ का वडाअध्यक्ष शेषकान्त भण्डारी लगायतले बोल्दै आफ्नै वडा भवनबाट नागरिकले सेवा पाउनु सराहनीय रहेको बताए ।
सिद्धार्थनगर–४ का वडा सदस्य दिल बहादुर गुरुङको स्वागत तथा अर्जुन गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मंगलबार उद्घाटन गरिएको वडा कार्यालय भवनको २०७६ चैत १२ गते वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले शिलान्यास गरेका थिए ।